अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छायाङ्कनमा ‘ह्यासट्याग माया’

छायाङ्कनमा ‘ह्यासट्याग माया’


काठमाडौँ-‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को छायाङ्कन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ । 

चौध दिनको तालिका तय गरिएको चलचित्रको छायाङ्कन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिनुभयो । “नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवर्द्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायाङ्कन प्रारम्भ गरेका हौँ । दुई साता यहाँको रमणीयस्थलमा छायाङ्कन गर्नेछौँ”, उहाँले भन्नुभयो । यसै चलचित्रमार्फत निर्देशनको सुरुआत गर्नुभएका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको जानकारी दिनुभयो । 

“विधा थ्रिलर भएता पनि पूर्ण मनोरञ्जक चलचित्र बन्ने छ । प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु”, उहाँले भन्नुभयो । चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिङ्ह, सुदाम सिकेलगायतको अभिनय रहेको छ । यसको छायाङ्कन काठमाडौँ र धरानमा समेत गरिनेछ ।  

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शीर्ष भूमिका निर्वाह गरिरहनुभएकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिनुभएको थियो । 

“चरित्र निर्माणमा समय खर्चिएकी छु । किनकि यसले हामीलाई चरित्रप्रति इमान्दार बनाउँछ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ”, अभिनेत्री श्रेष्ठले भन्नुभयो । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहेको छ ।