अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

रित्तिदै गाउँ, जीर्ण बन्दै घर


भरतपुर-इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन्।

“घरमा श्रीमान र श्रीमती मात्रै छौँ”, मगरले भन्नुभयो, “कोही छोरा भरतपुर त कोही विदेशमा छन्।” पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच/छ घर मात्रै छन्। केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उहाँको भनाइ छ।

सोही वडाको कुयलघारीमा अधिकांश घर खाली छन् । यो भूकम्प प्रभावित ठाउँ पनि हो। भूकम्पपछि यहाँबाट बसाइँसराई गर्ने बढेका थिए। यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताउनुभयो ।

मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ । पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ। खानीगाउँ र कोयलघारीमा एक सय आठ घरधुरी छन् । यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ।

स्थानीय झुमाकुमारीले कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा चहलपहल कम हुँदै गएको बताउनुभयो । खानीगाउँदेखि नारायगणगढ–मुग्लिन राजमार्ग पाँच किलोमिटर दूरीमा पर्दछ । गाउँमा अहिले मोटरबाटो पुगेको छ। विद्युत्, खानेपानीको सबै सुविधा पनि आइसकेको छ। विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको कुयलघारीका सेतु विकको भनाइ छ । “यहाँका जमिन बाँझै छन्। मानिस सहर पसे । गाउँमा भएकाले पनि काम गर्न छाडे”, उहाँले भन्नुभयो।

मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको इच्छाकामना गाउँपालिका कार्यपालिका सदस्य परिमाया कामीले बताउनुभयो । युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने फसलले छ महिना पनि नपुग्ने उहाँको भनाइ छ ।

पहिले जस्तो उत्पादन पनि हुँदैन त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ । यहाँका मानिसहरु बाख्रा बिक्रीबाट कमाएको र विदेशबाट पठाएको पैसाले जीविकोपार्जन भइरहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

“किसानका लागि गाउँपालिकाले कृषिका कार्यक्रम ल्याएको छ । तर उक्त सुविधा लिने कोही छैनन्”, उहाँले भन्नुभयो, “गतवर्ष छुट्याइएको बजेट पनि खर्च भएन ।” गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो । उहाँले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बताउनुभयो । यहाँका मानिस भरतपुर, सिमलढाप र गैँडाकोट लगायतका क्षेत्रमा बसाइसराइ गर्ने गरेका छन् । बसाइसराइ गरी जाने अधिकांशले जमिनसमेत बिक्री गरिसकेका छन् ।