अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा-विद्यार्थीको कार्यक्रम बिथोल्ने प्रयास नगरियोस्: क्षितिज थेवे 

युवा-विद्यार्थीको कार्यक्रम बिथोल्ने प्रयास नगरियोस्: क्षितिज थेवे 


काठमाडौं-राष्ट्रिय युवा संघ नेपाललाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको सो संगठनले जनाएको छ। 

जनसरोकार जनजीविकाका मुद्दाहरूमा सधैँ अग्र पङ्क्तिमा रहेर युवाहरूको आवाज बुलन्द पार्ने नेपाली युवाहरूको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी संगठन राष्ट्रिय युवा संघ नेपाललाई बदनाम बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू फैलाइएको सो संगठनको निष्कर्ष छ।

‘राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको संगठन हो’, संगठनका अध्यक्ष क्षितिज थेवेले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा लेखिएको छ। 

नेपाली जनताको लामो बलिदानी त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरूलाई संगठनले उठाउँदै आएको विज्ञप्ति मार्फत स्मरण गराएको छ। ‘संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो’, विज्ञप्तिमा लेखिएको छ।

मङ्सिर ७ गते आयोजना गरिने युवा विद्यार्थी विशेष कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठ समूहले संगठनको नाम बदनाम गराउने प्रयास गरिएको संगठनको आशंका छ ।

‘घुसपैठबारे हामीले आन्तरिक रुपमा छानबिन गरिरहेको ब्यहोरा जानकारी गराउँदछौँ, यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ’, थेवेले सो विषयमा स्पष्ट पार्दै लेख्नु भएको छ। 

संगठनले बिहीबार तीनकुनेमा हुने युवा, विद्यार्थी विशेष कार्यक्रममा सहभागी हुन पनि सबैलाई आमन्त्रण गरेको छ।