अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माघमै फुल्यो लालीगुराँस

माघमै फुल्यो लालीगुराँस


लमजुङ– चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । 

बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं १ रापासिङ, वडा नं ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो ।

जिल्लामा चैत–वैशाखतिर फुल्ने लालीगुराँस जलावायु परिवर्तनको मुख्य कारणले माघमै फुलेको उहाँको भनाइ छ । यस वर्ष माघको पहिलो हप्ताबाटै लालीगुराँस फुल्न थालेको बताइएको छ । राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटमा लालीगुराँस फुल्न थालेसँगै वन राताम्मे देखिन थालेको बताउनुभयो । यसरी समयअगावै लालीगुराँस फुल्नु जलवायु परिवर्तनको असर देखिएको उहाँको भनाइ छ । 

यहाँ आउने पर्यटकको मुख्य आकर्षणको केन्द्र लालीगुराँस फूल हुन थालेको उहाँले बताउनुभयो । विसं २०७५ फागुनदेखि ११ घरबाट सुरुआत भएको यहाँको घरबास सिङ्गो गाउँ अर्थात् १७  घरमा सञ्चालनमा रहेका छन् । बाइसे–चौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास बुझ्न र घरबासमा रमाउन आउने पर्यटक गाउँमा फुलेको लालीगुराँससँग भुल्न थालेका छन् ।