अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठकमा केन्द्रीय सदस्यहरु कसले के भने?

एमाले बैठकमा केन्द्रीय सदस्यहरु कसले के भने?


काठमाडौं-नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १० औं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ। हालसम्म धारणा राख्ने अधिकांसले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्नु नहुने,जेन जी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्नु पर्ने र नेतृत्व परिवर्तनको मुद्धा अहिले होइन महाधिवेशनमा उठाउनु पर्ने बताएका छन्।


बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य मोहम्मद हारुनले जेन जी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत भएको बताउनुभएको छ । उहाँले एमालेका संगठन देश देखि टोलसम्म भएकोले यो पार्टी कमजोर हुन नसक्ने बताउनुभयो । ‘देशमा एमाले,प्रदेशमा एमाले,जिल्लामा एमाले,पालिकामा एमाले,टोलमा एमाले छ’ उहाँले भन्नुभयो ‘तर कसरी एमाले कमजोर छ भन्ने भाष्य खडा गरिदैछ । यो गलत भाष्यलाई चिर्न सबै पार्टीपंक्ती परिचालित हुनु पर्दछ ।’
हारुनले अहिले नेतृत्व परिवतर्नको बहस गर्न नहुने बताउनुभयो । उहाँले केपी ओलीको नेतृत्व देशलाई अझै आवश्यक रहेकोले सिंगो केन्द्रीय कमिटीले यसमा एकतावद्ध निर्णय गर्नुपर्ने बताउनुभयो ।

अर्की केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताका सम्पती छानविन गर्नुपर्ने माग गर्नुभयो । उहाँले पार्टीले अलग्गै आयोग बनाएर नेताहरुको सम्पती सार्वजनिक गर्ने हो भने जेन जी माग पनि सम्बोधन हुने पार्टीमा शुद्धिकरण पनि हुने भनाइ राख्नुभयो । ‘मेरो माग छ यसै बैठकबाट त्यस्तो आयोग बनाउ जसले नेताका सम्पतीको छानविन गरेर सार्वजिनक गरोस’ काफ्लेले भन्नुभयो ।

केन्द्रीय सदस्य रमेश बडालले मंसिरमा महाधिवेशन प्रस्तव गरे पनि मुलुकको राजनीतिक परिस्थितीले चैत भन्दा यता हुन सक्ने सम्भावना आफूले नदेखेको बताउनुभयो । उहाँले विद्यालयलाई शान्ती क्षेत्र बनाउने र विद्यार्थीलाई राजनीतिबाट अलग्गै राख्दा ठुलो राजनीतिक रिक्तता देखिएको बताउनुभयो । ‘विद्यालयमा राजनीति नगर्ने नाममा भएको रिक्तताको फाइदा अरुले उठाए’ बडालले भन्नुभयो ‘त्यसैले विद्यार्थीहरु मुलधारको राजनीतिबाट टाढिए । यसमा पार्टीले पुनर्बिचार गर्नुपर्दछ । ’

केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्व परिवर्तन अहिले बेमौसमको बाजा भएको बताउनुभयो । उहाँले कसलाई अध्यक्ष ,कसलाई महासचिव बनाउने भन्ने कुरा अब महाधिवेशन प्रतिनिधीका हातमा गइसकेको बताउनुभयो ।

पूर्वमहान्याधिवक्ता समेत रहनु भएका बडालले प्रधानमन्त्रीले गरेको संसद विघठन कायम हुन नसक्ने दाबी गर्नुभएको छ ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य महम्मद समिरले केपी ओलीको विकल्प खोज्ने कुरा अहिलेको आवश्यकता नभएको बताउनुभएको छ । उहाँले केपी ओलीले सामाना गरेका कठिनाई वा बिरोधले न उनी ढलेका छन् न उनका सपना र धारणा फेरबदल भएका भएका छन् भन्दै उर्दु भाषामा भन्नुभयो ‘ना केपी ओली गिरे,ना केपी ओली के उमिदो मिनार गिरे ।’

केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले पार्टीको आन्तरिक एकता मजबुद बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ । अहिले नेपाली वर्णानुक्रम अनुसार य अक्षरबाट नाम उठेका केन्द्रीय सदस्यहरुले धारणा राखिरहनु भएको छ । आज कम्तीमा १०० जना केन्द्रीय सदस्यले धारणा राख्ने कार्यसुची रहेको छ । हिजो देखि सुरु भएको बैठक भोली समापन गर्ने तयारी छ ।