अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता-कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह: सत्य कुरा डटेर बोल्नुस्, बोल्न पाइन्छ

नेता-कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह: सत्य कुरा डटेर बोल्नुस्, बोल्न पाइन्छ


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब टोलटोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नुपर्ने बताउनुभएकाे छ। देशैभरि असुरक्षा बढेकोले प्रहरीलाई सघाउन टोल सुरक्षा समिति आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयाे।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले मानिसहरू भित्र कायरता जगाएर राज्यलाई कमजोर बनाई राज गर्ने प्रयत्न भएको बताउनुभयाे। यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैंले गर्नुपर्ने अवस्था आएको अध्यक्ष ओलीले बताउनुभयाे ।

सरकारले समातेका अपराधिलाई छाड भन्ने अनि राजनीतिक नेताहरूलाई गिरफ्तार गर भन्ने गरेको अध्यक्ष ओलीले सुनाउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैले गर्नु पर्‍यो, टोल टोलमा सुरक्षा समिति बनाउनै पर्‍यो।

अध्यक्ष ओलीले पार्टीका नेता-कार्यकर्तालाई सत्यको अगाडि नझुक्न आग्रह गर्नुभयाे। ‘सत्य कुरा डटेर बोल्नुस्, बोल्न पाइन्छ, वाक स्वतन्त्रता हाम्रो नैसर्गिक अधिकार हो, बोल्ने गर्नुस्, अपराधीहरूले मनपरी बोल्न पाउने हामीले जायज कुरा बोल्न नपाउने भन्ने हुँदैन, साथीहरू बोल्ने गर्नुस्’, अध्यक्ष ओलीले भन्नुभयाे।

अध्यक्ष ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नुपर्ने बताउनुभयाे । ‘अहिले देशमा औँसीको अँध्यारो छाएको छ, यो स्याहा सरकार हो, यो स्याहा सरकारका विरुद्ध हामीले उज्यालो बाल्नै पर्दछ, ज्योति बाल्नै पर्दछ, उज्यालो बाल्नै पर्दछ’, अध्यक्ष ओलीले भन्नुभयाे।

अध्यक्ष ओलीले अहिले देशमा चुनावका स्थिति नभएको पनि बताउनुभयाे। त्यसैले एमालेले विघटित संसद्को पुर्नस्थापनाको माग उठाएको बताउनुभयाे । जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव हुन नसक्ने उहाँको भनाइ छ । ‘कि सम्झौता छ अपराधीहरूसँग तपाईंहरूको, आफूहरूलाई सहयोग गर्ने भन्ने’, उहाँले बताउनुभयाे।