रूपन्देही- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा र पूर्वराष्ट्रपति विद्या भण्डारीको बीचमा कुनै विवाद नभएको बताउनुभएको छ।
प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा गरेको अन्तरक्रियामा उपाध्यक्ष पौडेलले भण्डारीको सदस्यता अध्यक्ष केपी ओलीले टुंगो लगाउने अपेक्षा गरेको बताउनु भएको हो ।
‘बाहिर केपी शर्मा र विद्या भण्डारीबीच ठूलो विवाद रहेको कुरा आइरहेको छ, त्यसमा कुनै सत्यता छैन’, उपाध्यक्ष पौडेलले भन्नुभयो’, ‘उहाँहरू लामो समयको राजनीतिक सहयात्री हुनुहुन्छ, उहाँबीचमा सहमतिमै टुंगो लाग्छ समस्या हुँदैन ।’
उपाध्यक्ष पौडेलले केपी शर्मा ओली र विद्या भण्डारीका बीचमा कुनै पनि प्रकारको मनमुटाव छ भन्ने अनुमान सम्पूर्ण रूपमा असत्य भएको स्पष्ट पार्नुभयो। उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘म तपाईंलाई स्पष्टसँग भन्न चाहन्छु केपी शर्मा ओली र विद्या भण्डारीका बीचमा कुनै पनि प्रकारको मनमुटाव छ भन्ने अनुमान सम्पूर्ण रूपमा असत्य हो । म दुवै नेताहरूलाई नजिकबाट चिन्दछु। उहाँहरूको आपसी सम्बन्ध, उहाँहरूको बीचको सहकार्यलाई पनि मैले राम्रोसँग जान्दछु । त्यसकारणले उहाँ दुईजनाका बीचमा मनमुटाव छ, दूरी छ, कटुता छ भन्ने ढङ्गले जुन चर्चा हुने गर्छ, त्यो दूरी, कटुता, मनमुटाव केही पनि छैन।’
पूर्वराष्ट्रपति राजनीतिमा आउनुहुन्छ कि हुन्न भन्ने कुनै सैद्धान्तिक प्रश्न नभएको भन्दै राजनीतिमा आउन मिल्दै मिल्दैन भन्ने ढङ्गले सैद्धान्तिक रूपमा प्रस्तुत गर्नुपर्ने विषय पनि नभएको उहाँको भनाइ छ।






प्रतिक्रिया