अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले छाड्नुको सजाय मलाई समयले दियो र दिनेछ: रामकुमारी झाँक्री

एमाले छाड्नुको सजाय मलाई समयले दियो र दिनेछ: रामकुमारी झाँक्री

एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो


काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनुभएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताउनुभएको छ।

राष्ट्रिय सभागृह, काठमाडौंमा कात्तिक २४ गते सोमबार एमालेको घर फर्क राष्ट्रिय अभियान मार्फत एमालेमा फर्कँदै झाँक्रीले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मात्र होइन राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको बताउनुभयो। ‘नेकपा एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो’, नेतृ झाँक्रीले भन्नुभयो ।

नेतृ झाँक्रीले जेनजी आन्दोलनको नाममा भएको आन्दोलन सरकार र एमाले विरुद्ध सुनियोजित षडयन्त्र भएको बताउनुभयो। जेनजी आन्दोलनको रोटी सेकाएर सबै शक्ति एमाले विरुद्ध लागेका उहाँको धारणा छ। ‘आज जेनजी आन्दोलन भर्सेज नेकपा एमाले उभिएको छ’, उहाँले भन्नुभयो।

एमालेको नर्सरीमा हुर्किएका सबै मानिसहरू आजको राष्ट्रको जिम्मेवारी पुरा गर्नको लागि एक ठाउँमा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो। ‘जेनजी आन्दोलनको स्वामित्व खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र संसद् भएन जलेको कुरालाई कसरी जस्टिफाई गर्न सक्छन् ? ज्युँदै मान्छे जलाउँदा ठिक गरे भन्नेहरूका विरुद्ध आज एमाले उभिएको छ’, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनको नाममा पीडित भएकाहरूले आज नेकपा एमालेलाई खोजी रहेका उहाँले बताउनुभयो। नेकपा एमालेका केही नेताहरू बाहिर निस्किएर सुरक्षामा उभिएपछि मानिसहरू बाहिर निस्कन लागेको उहाँको भनाइ छ। ‘आज नेकपा एमाले नै जनताको रक्षक शक्ति हो, यो आजको वास्तविकता हो, यो वास्तविकताबाट हामी भाग्न सक्दैनौँ’, उहाँले भन्नुभयो।

उहाँले जेनजी युवाहरूलाई एमालेमा आउन र आह्वान गर्नुभयो । एमालेले सबैलाई पार्टी प्रवेशमा चारै तिरका ढोका खुल्ला गरेको अनुभूत गरेको उहाँले बताउनुभयो । ‘हामीले पार्टीमा पुर्‍याएको क्षतिलाई पनि पुरा गर्ने गरी पिठ्युँ थापेर लाग्ने छौँ’, उहाँले भन्नुभयो ।

उहाँले माधव नेपालकाे पछि लागेर केही नहुने बताउँदै सबैलाई मूलप्रवाहमा फर्कन आग्रह गर्नुभयाे । गति समान नभएकाे यात्रामा नहिँड्न र नअलमलिन उहाँले आह्वान गर्नुभयाे ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठसहित एकीकृत समाजवादीबाट फर्कनुभएका नेताहरूलाई पार्टीको झण्डा प्रदान गरी स्वागत गर्नुभएको थियो। राष्ट्रिय सभा गृहमा आयोजित सो कार्यक्रम ‘घर फर्क अभियान’को औपचारिक शुभारम्भका रूपमा मनाइएको थियो।

Skip This