अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनःस्थापना आवश्यक छ: शङ्कर पोखरेल

देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनःस्थापना आवश्यक छ: शङ्कर पोखरेल


बनेपा-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा हाल देखिएका राजनीतिक अस्थिरता र जेन्जी आन्दोलनका पछिल्ला घटनाहरू ‘योजनाबद्ध षड्यन्त्रको परिणाम’ भएको बताउनुभएकाे छ।

मंगलबार नेकपा एमाले बनेपा नगरपालिका कमिटी, काभ्रेद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाल अझै बलियो र सक्षम राष्ट्र बन्न नसक्दा पटक-पटक प्रतिगमनको दुष्चक्रमा फसिरहेको बताउनु भएको हो।

‘नेपाल बलियो र सक्षम राष्ट्र बन्न सकेको छैन। त्यसैले देश पटक-पटक प्रतिगमनको दुष्चक्रमा फस्ने गर्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपाली समाजमा भ्रम सिर्जना गर्नेहरूले भ्रमकै खेती गरेर २०८२ भदौ २३ र २४ का घटना गराए।’

राजावादी शक्तिहरूले गत भदौ २३ र २४ गते जस्तै घटना २०८१ चैत १५ गते नै गर्न चाहेका महासचिव पोखरेलले दाबी गर्नुभयो। उहाँले माओवादी केन्द्र र अन्य शक्तिहरू पनि सो षड्यन्त्रको प्रतीक्षामा रहेका दाबी गर्नुभयो। ‘म्याजिक नम्बर भएको ३२ सिटे माओवादी केन्द्र पनि त्यस अवसरको पर्खाइमा थियो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘जेलमा रहेका रवि लामिछानेको पार्टी पनि सो दिनको प्रतिक्षामा थियो।’

महासचिव पोखरेलले भदौ २३ र २४ का घटनामा विभिन्न विदेशी शक्ति र संस्था समेत संलग्न रहेको दाबी गर्नुभयो। ‘बाहिर देखिएका पात्र हेर्ने हो भने राजावादी, माओवादी, रास्वपा, बारबरा फाउन्डेसन र ओरिजिनल तिब्बतियन ब्लड ग्रुपलगायतका विदेशी शक्तिहरू भदौ २३ र २४ का घटनामा संलग्न थिए,’ महासचिव पोखरेलले भन्नुभयो, ‘वैधानिक सत्तालाई कमजोर बनाएर देशमा अस्थिरता ल्याई आफ्नो अनुकूल लाभ लिने योजनाअनुसार नै केपी ओली नेतृत्वको सरकार ढालिएको हो।’

महासचिव पोखरेलले राज्यका सबै निकायले सन्तुलनमा रही काम गर्न नसक्दा देश अस्थिर हुँदै गएको बताउनुभयो। ‘राष्ट्रको सही गन्तव्यका लागि सबै निकाय सन्तुलित हुनुपर्छ, तर नेपालमा त्यो अवस्था बनेको छैन,’ उहाँले भन्नुभयो।

महासचिव पोखरेलले माओवादी देशकाे लागि सधैँ समस्या भएर उभिएकाे बताउनुभयाे। ‘माओवादी समाधान होइन, यो देशको समस्या हो। जेन्जी आन्दोलनमा पनि माओवादीले आफ्नो हिस्सा माग्यो, भदौ २३ र २४ का घटनामा आफ्ना पुराना लडाकुहरू प्रयोग गर्‍यो ।’

महासचिव पोखरेलले देशलाई स्थायित्व र विकासको मार्गमा लैजान कम्युनिष्ट आन्दोलन र समाजवादकै मार्ग उपयुक्त रहेको बताउनुभयो। ‘देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनःस्थापना आवश्यक छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘यो सरकारले चुनाव गराउन सक्दैन, यो सरकार त्यसका लागि बनेको पनि होइन।’

महासचिव पोखरेलले अहिलेका केही राजनीतिक दल र नेताहरूले चुनावको नाममा देशलाई फेरि अस्थिरताको दिशामा धकेल्न खोजिरहेका टिप्पणी गर्नुभयो। ‘फेरि आक्रमणको डरले केही दल र नेताहरू चुनावको पक्षमा उभिएका छन्, तर यो सरकार चुनाव गराउन बनाइएको होइन,’ उहाँले जोड दिनुभयो।

महासचिव पोखरेलले भदौ २३ का दिन विद्यालय ड्रेसमा विद्यार्थीहरूलाई माइतीघर मण्डलामा लैजाने कार्यसमेत योजनाबद्ध रूपमा भएको दाबी गर्नुभयो। ‘त्यो दिन विद्यालयका विद्यार्थीहरूलाई बोर्डिङ स्कुलहरूले माइतीघरमा ल्याएर छाडियो, त्यो किन गरियो?’ उहाँले प्रश्न गर्नुभयो, ‘पानी बाँड्न गएका सुदन गुरुङ कसरी जेन्जी आन्दोलनका वार्ताकार बने ? त्यो काम बारबरा फाउन्डेसन र फ्रि तिब्बत अभियानमार्फत भएको अब सार्वजनिक भइसकेको छ।’

महासचिव पोखरेलले एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो। ‘अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु जरुरी छ,’ उहाँले निष्कर्ष निकाल्नुभयो, ‘त्यही शक्तिले मात्र देशलाई वर्तमान संकटबाट निकास दिन सक्छ । कोही निराश र हतास हुनुपर्ने छैन, अब जनताका बीचमा गएर  जनताका कुरा सुन्ने हाे आफ्ना कुरा भन्ने हाे।’

Skip This