सिरहा-सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय हमाललाई स्थानीयसँगको विवादपछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार स्थानीयसँग भएको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग सम्बन्धी विषयमा छानबिन गर्न उनलाई बाहिनी तानिएको हो।
हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय र प्रहरीबीच विवाद भएको थियो।
सोही क्रममा डीएसपी हमाल आक्रोशित रूपमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। भिडियोमा उनले स्थानीयलाई गाली गरेको सुन्न सकिन्छ।
यसप्रति आपत्ति जनाउँदै स्थानीयहरूले प्रतिवाद गरेका छन्। उनीहरूले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेर प्रहरी आफैंले नै तस्करीको आरोप लगाउनु विरोधाभासपूर्ण भएको बताएका छन्।
भिडियोमा डीएसपी हमाल बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा हेलमेट लगाएर आएको देखिन्छ । विवाद चर्किएपछि स्थानीयले सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए ।
स्थलगत निरीक्षणपछि सांसद यादवले सम्पूर्ण स्थानीयलाई ‘तस्कर’को आरोप लगाउनु गैरकानुनी र अनुचित भएको टिप्पणी गरेका छन् ।
साथै प्रहरी पोशाकमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गरी नागरिकलाई त्रसित पार्ने कार्य अस्वीकार्य रहेको बताउँदै घटनाको निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।
घटनापछि स्थानीयवासीहरूले संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन् । यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबीचको विवादकै कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरी हेडक्वार्टरमा तानिएको जानकारी दिए ।
डीएसपी हमाल यसअघि सशस्त्र प्रहरी बल अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए।







प्रतिक्रिया