काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो। सर्वोच्चको आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्द्यीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।
गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा आदेश दिएको हो।
गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार मात्रै काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको हो ।
गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख १० गते पक्राउ गरेको थियो।







प्रतिक्रिया