काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क राई (साम्पाङ)ले नेपाली सेना र नेपाल प्रहरीलाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले सेना र प्रहरी लगत माग्ने निकाय नभएको स्पष्ट पार्दै पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन्।
‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनू होला ! सुकुमबासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी ! यो सरासर गलत छ ! आतंक सृजना गर्न खोजिएको हो !’ अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन् ।
यसअघि उनले सरकारले दिने लोकतन्त्रविरोधी र मानवता विरोध आदेश पालना नगर्ने सेना र प्रहरीलाई अनुरोध गरेका थिए ।

नेपाली सेनाले स्थानीय तह सरकारसँग सुकुम्बासी बसोबासीहरूको विवरण माग गरेको रहस्य खुलेको छ।
सेनाको बाँकेस्थित बज्रदल गण, इमामनगर ब्यारेकका सेनानी चोलेन्द्र कार्कीले बर्दियाका स्थानीय सरकारलाई लेखेको पत्रबारे यति बेला चर्चा चलिरहेको छ।
काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाइएको सन्दर्भ उल्लेख गरिएको उक्त पत्रमा बर्दियाका आठ स्थानीय पालिकासँग पनि सुकुम्बासी बस्तीबारे सूचना माग गरिएको हो।
‘वैशाख १२ र १३ गते काठमाडौं उपत्यकाभित्रका नदी, किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरू हटाउने कार्यमा सुरक्षाकर्मीहरू परिचालन भएको व्यहोरा विदितै छ,’ पत्रमा भनिएको छ, ‘तसर्थ बर्दिया जिल्लामा रहेका अव्यवस्थित सुकुम्बासी बस्तीहरूसम्बन्धी अद्यावधिक विवरण आवश्यक परेको हुँदा देहाय अनुसारको विवरण २०८३ वैशाख १४ गतेभित्र गणलाई उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ।’








प्रतिक्रिया