काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गरेको छ।
बुधबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी नेतृत्वका विरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो।
अनुशासन समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेलसम्मका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ।’
पार्टीका अनुसार सोही विषयमा मागिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको ठहर गर्दै अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई निलम्बन गरिएको हो।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले तामाङले दिएको स्पष्टीकरण प्रारम्भिक रूपमा हेर्दा चित्तबुझ्दो नभएको र यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई पदमा राखिराख्दा अनुसन्धान प्रभावित हुने निष्कर्ष निकालेको छ।
निलम्बनमा परेसँगै तामाङले अब जिल्ला सभापतिका रूपमा कुनै पनि कामकाज गर्न पाउने छैनन् ।








प्रतिक्रिया