अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्कीद्वारा श्रमिक दिवसको शुभकामना, श्रमिक अधिकार सुदृढीकरणमा जोड

मुख्यमन्त्री कार्कीद्वारा श्रमिक दिवसको शुभकामना, श्रमिक अधिकार सुदृढीकरणमा जोड


विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको हक, हित र अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अन्तराष्ट्रिय श्रमिक दिवशका अवशरमा आज निकालेको शुभकामना सन्देशमा श्रमिक वर्गको बलिदानीपूर्ण संघर्ष, योगदान र अधिकार प्राप्तिको इतिहास स्मरणीय रहेको उल्लेख गरेका छन्। उनले श्रमिकहरूको योगदानबाट नै समाजमा सकारात्मक रूपान्तरण सम्भव भएको बताउँदै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

सन्देशमा कोशी प्रदेश श्रमिक आन्दोलनको ऐतिहासिक थलो भएको उल्लेख गर्दै विराटनगरमा भएको मजदुर आन्दोलनले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण आधार तयार पारेको स्मरण गरिएको छ। उनले श्रमिकहरूको त्याग र संघर्षको कदर गर्दै उनीहरूको जीवनस्तर सुधार गर्न राज्यले अझ प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

मुख्यमन्त्री कार्कीले सीमित स्रोत र साधनका बावजुद प्रदेश सरकारले रोजगारी सिर्जना र आर्थिक विकासलाई प्राथमिकता दिइरहेको बताएका छन्। उनले श्रमप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै श्रमिकको सम्मान स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी, प्रविधिमैत्री वातावरण निर्माण गरी श्रमिकलाई सीपयुक्त बनाउँदै नयाँ रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकार अग्रसर रहेको पनि उनले स्पष्ट पारे। सूचना र प्रविधिको प्रयोगबाट श्रमिक वर्गलाई थप अवसर उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै उनले सबै चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

सन्देशको अन्त्यमा उनले श्रमिकको हक, हित र सम्मान सुनिश्चित गर्दै समृद्ध र विकसित समाज निर्माणमा सबैलाई सफलता मिलोस् भन्ने कामना गरेका छन्।