काठमाडौँ-जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
हाल मधेस प्रदेशलगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली र तराईका भूभागमा आंशिक बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
यसैगरी, मङ्गलबार देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।







प्रतिक्रिया