अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीका सुकुम्बासीले घोषणा गरे आन्दोलनका कार्यक्रम

रुपन्देहीका सुकुम्बासीले घोषणा गरे आन्दोलनका कार्यक्रम


काठमाडौं–सरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तीव्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

वैशाख २२ गते मंगलबार भूमिहीन सुकुम्बासी र अव्यवस्थित संघर्ष समिति रुपन्देहीले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले २४ वैशाख बिहीबार बुटवलमा विरोध र्‍याली स्वरुप प्रदर्शन गर्न लागिएको जानकारी दिए। उनका अनुसार बुटवलको राजमार्ग चौराहामा हजारौँको संख्यामा भूमिहीन सुकुम्बासी भेला भएर मिलनचोक–अस्पताल लाइनहुँदै ट्राफिक चोकमा पुगेर कोण सभा गर्ने कार्यक्रम छ। त्यसपछि जिल्लाका स्थानीय तह र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।

समितिका संयोजक पौडेलले जेनजी आन्दोलनपछि बनेको वालेन्द्र शाह नेतृत्वको सरकारले आवश्यक तयारी र छलफलबिना सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाउने गरी डोजर आतंक मच्याएको बताए । ‘सरकारले विगतमा नापजाँच भएका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउनु पर्छ,’ उनले भने, ‘हामी करको दायरामा आउन तयार छौँ, राज्यले हाम्रो बिचल्ली हुने गरी डोजर आतंक मच्याउन पाइदैन।’

सरकारले बिना विकल्प हटाउन खोजे थप आन्दोलन चर्काउने उनले चेतावनी दिए। मानवअधिकार हनन नहुनेगरी संविधानअनुसार विकल्प दिएर मात्रै अघि बढ्न उनले सरकारलाई आग्रह गरे।

उक्त प्रदर्शनमा रुपन्देहीको बुटवलसँगै, देवदह, तिलोत्तमा, सियारी, शुद्धोधनलगायत पालिकाका विभिन्न बस्तीबाट २० हजारभन्दा बढी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सडकमा आउने समितिका संयोजक पौडेलले बताए।

काठमाडौंका नदी किनारका बस्ती र सार्वजनिक जग्गामा बनेका घरमा डोजर चलाएपछि रुपन्देहीका सुकुमबासीहरू त्रसित बनेका छन्। सरकार यो तत्काल निर्णयबाट पछि नहटे रुपन्देहीमा राष्ट्रियस्तरको भेला आयोजना गर्ने तयारी गरिएको संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विश्वकर्माले बताए ।

बुटवल उपमहानगरले नगरभित्रका अतिक्रमित स्थान खाली गराउने अभियान अघि बढाएको छ। यसअघि नै उच्च अदालत तुलसीपुर, बुटवल इजलासको जग्गासहित विभिन्न स्थानमा अतिक्रमण गरी बनाइएका संरचना उपमहानगरले डोजर लगाएर हटाइसकेको छ । रुपन्देहीमा मात्रै झण्डै ८० हजार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू रहेको तथ्यांक छ। 

यसै सन्दर्भमा, सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदमविरुद्ध सुकुम्बासीहरू सडकमा देशभर प्रदर्शन चर्काएका छन्। आज बाँकेको कोहलपुर नगरपालिकाले क्रिकेट मैदान क्षेत्रमा बसोबास गर्दै आएका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीलाई १० दिनभित्र बस्ती खाली गर्न सूचना जारी गरेपछि प्रभावित बासिन्दाहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले स्कुले बालबालिकालाई समेत बोकेर प्रदर्शनसँगै विरोध गरेका छन् ।

नगरपालिकाको सूचनापछि आक्रोशित स्थानीयले उचित वैकल्पिक बासको व्यवस्था नगरी बस्तीमा डोजर चलाउन नहुने माग गर्दै कोहलपुरमा र्‍याली निकालेका हुन्।

प्रदर्शनकारीहरूले विद्यार्थीहरूको पठनपाठनको सुनिश्चितता, सुरक्षित आवासको व्यवस्था र शिक्षा पाउने अधिकारको रक्षा गर्नुपर्ने माग राख्दै “डोजर आतंक बन्द गर” लगायतका नारा लगाएका थिए।

शान्तिनगर हुँदै कोहलपुर बजार परिक्रमा गरेको र्‍याली नगरपालिकाको मूल गेटमा पुगेर कोणसभामा परिणत भएको थियो। सभामा बोल्दै अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संयुक्त समन्वय समिति बाँकेका संयोजक जीवन थापाले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गरे।

कोहलपुर नगरपालिकाले आगामी वैशाख २६ गते अतिक्रमित जग्गा खाली गराउने उद्देश्यले डोजर प्रयोग गर्ने तयारीसहित सूचना जारी गरेको छ। उक्त क्रिकेट मैदान क्षेत्रमा हाल करिब ७५१ घरटहरा रहेका छन्।

वैशाख २१ गते सोमबार पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले पोखरा, हेटौँडा, घोराही, बर्दिया लगायतका ठाउँमा प्रदर्शन गरेका थिए। संघीय सरकारको पहलमा काठमाडौं उपत्यकाका विभिन्न दर्जनौँ सार्वजनिक ठाउँमा बस्दै आएका हजारौँ सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको घर टहरा भत्काइसकिएको छ।

जसले गर्दा ठूलो संख्याका परिवार घरबारविहीन बन्न पुगेका छन्। साथै, सरकारले स्थानीय तहलाई पनि सोही अनुसारको सूचना जारी गरेपछि केही स्थानीय तहले सोही अनुसारको सूचना जारी गरेका छन् ।

जसका कारण देशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शन विस्तार हुँदै गएको देखिएको छ। तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने कुनै पनि नागरिकलाई आवासविहीन हुन नदिने बताएका छन् ।