झापा-झापाको बिर्तामोडका सुकुमबासीहरुले ‘डोजर आतंक बन्द गर्न’ माग गर्दै आजबाट आन्दोलन सुरु गरेका छन्। सुकुमबासी क्षेत्रमा बसोबास गर्नेहरुले बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन्।
वर्षौदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउदै उनीहरुले धनीपुर्जाको व्यवस्था गर्न जोडदार माग गरेका हुन्। देशभर डोजर आतंक सुरु गरिएको बताउदै आन्दोलित सुकुमबासीहरुले नागरिकको आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन्।

बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउदै भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समितिले नगरपालिका क्षेत्रभित्रका घर–टहरा भत्काउने कार्य तुरुन्त रोक्न, वास्तविक सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन र भू–माफियाहरूलाई कारबाही गर्न माग गरेको छ । साथै, डोजर आतंकका कारण ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरी उनीहरूको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत अघि सारिएको छ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले चलाएको डोजर आतंकले भूमिहीन सुकुम्वासीहरूको मौलिक हक कुण्ठित गरेको उल्लेख गरिएको छ।
नेपालको संविधान २०७२ को धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने व्यवस्था गरेको र सर्वोच्च अदालतले समेत वैकल्पिक व्यवस्था नगरी उठिबास नलगाउन निर्देशन दिएको अवस्थामा सुकुम्वासी बस्तीहरूमा डोजर चलाउनु अमानवीय भएको संघर्ष समितिले जनाएको छ।
बिर्तामोडमा मात्रै १०३५ भूमिहीन सुकुम्वासी र १५२० अव्यवस्थित बसोवासीहरू रहेको तथ्य प्रस्तुत गर्दै ज्ञापनपत्रमा डोजर आतंकका कारण १७ वर्षीय रबिन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको दुःखद घटना समेत स्मरण गराइएको छ।
संयोजक बिष्णुमाया विश्वकर्मा र सचिव रमेश मुर्मुद्वारा हस्ताक्षरित उक्त पत्रमा यी मागहरू यथाशीघ्र पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रने र त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिइएको छ। सयौंको संख्यामा सहभागी सुकुमबासीहरुले सरकारको कडा विरोध गरेका छन्।







प्रतिक्रिया