अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग फेरि बन्द

तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग फेरि बन्द


काठमाडौं-बीपी राजमार्ग फेरि बन्द भएको छ। अविरल वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग केही घण्टा सञ्चालनमा आएपछि पुनः बन्द गरिएको हो।

रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि सुरक्षाको दृष्टिले बिहीबार (आज) बिहान १० बजेदेखि राजमार्गमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यसअघि अस्थायी डाइभर्सन निर्माण गरेर बिहानैदेखि साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। खोलामा पानीको सतह घटेपछि मात्रै पुनः सवारी सञ्चालन गर्नेबारे निर्णय गरिनेछ।

गत सोमबारदेखि परेको लगातार वर्षाले रोशी खोलामा बाढी आएपछि काभ्रे–सिन्धुली खण्डको विभिन्न स्थानमा सडक तथा डाइभर्सन बगाएको थियो। बाढीका कारण तीन दिनदेखि अवरुद्ध बनेको थियो। जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने मुख्य सडकका रूपमा रहेको बीपी राजमार्ग वर्षायाम सुरु भएसँगै पटक–पटक प्रभावित हुँदै आएको छ। गत वर्षको बाढीले समेत यस राजमार्गको विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएको थियो।