काठमाडौं- नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या द्रुत गतिमा बढेकोले उनीहरुको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरुले बताएका छन्। विगत दुई दशकमा नेपालमा ६० वर्ष भन्दा माथिको जनसंख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकोले परिवार र राज्य यसमा गम्भिर हुनुपर्ने सुझाव उनीहरुले दिएका छन्।
मनमोहन स्मृति तिप्रष्ठानले आयोजना हिजो र अस्ति आयोजना गरेको दुई दिने अन्तराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रष्तुतिकरण गरिएका चार वटा छलफल सत्रमा सहभागी विज्ञहरुले अब ज्येष्ठ नागरिकको जनसंख्या गनेर मात्र बस्नु उपयुक्त नुहने बताएका छन् ।
त्रिभुवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा.पद्धम प्रसाद खतिवडाले नेपालमा बच्चा पाउने दर कम भए पनि बच्चा पाउने उमेरको जनसंख्या ठूलो भएकोले यो समूह क्रमश बुढ्यौलीतर्फ प्रवेश गरिरहेकोले नेपालमा आगामी केही दशकसम्म नै ज्येष्ठ नागरिरकको जनसंख्या बढिरहने बताए। उनले ज्येष्ठ नागरिकलाई राज्यले हेरचाहन गर्ने सामाजिक सुरक्षाका कार्यक्रम ब्यापक रुपमा बिस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याएका छन् । ‘नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी नीति कार्यक्रम मनमोहन अधिकारीले सुरु गरेको ज्येष्ठ नागरिक भत्ताबाट सुरु हुन्छ’ खतिवडाको प्रष्तुतिमा भनिएको छ ‘२०५८ देखि ०६५ को अवधीमा यसको संस्थागत विकास भएको छ भने २०७२ को संविधानले ज्येष्ठ नागरिकका हकका बारेमा संवैधानिक सुनिश्चतता कायम गरेको छ।’

त्रिविका पूर्व प्राध्यापक विधान आचार्यले नेपालमा स्वास्थ्य सेवाको उपलब्धता,बढ्दो आर्थिक अवस्था आदिका कारण औषत आयु बढ्दै गएको बताएका छन् । २०३८ सालतिर नेपालीकौ औषत आयु ४९.८ वर्ष रहेकोमा हाल करिब ७० वर्ष पुगेको उनले जानकारी दिए। ‘औषत आयु बढ्नु खुशीको कुरा हो। यससँगै घरघरमै ज्येष्ठ नागरिकको संख्या थपियो । उनीहरुको हेरचाह अहिलेको प्रमुख चुनौती बन्न थालेको छ’ आचार्यले भने ‘यो चुनौतीको असर ज्येष्ठ नागरिकको जीवनमा परेको छ । उनीहरुले थप हेरचाह पाउनु पर्ने बेलामा अपहेलित त भएका छैन्न् यसमा सबै पक्षको ध्यान जान ढिला भइसकेको छ । ’
कपन बहुमुखी क्याम्पसका प्रमुख एवं जनसंख्या अध्येता भुमिदत्त पौडेलले २०५८ सालको जनगणनामा ज्येष्ठ नागरिकको जनसंख्या १४ लाख ७७ हजार ३सय ७९ रहेकोमा २०७८ मा यो संख्या दोब्बर भन्दा बढी भएर २९ लाख ७७ हजार ३ सय १८ पुगेको बताए । पौडेलका अनुसार नेपालको औषत जनसंख्या वृद्धिदरको तुलनामा ज्येष्ठ नागरिकको वृद्धिदर झण्डै तीनगुणा बढी छ । हाल नेपालको औषत जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ भने ज्येष्ठ नागरिकको वृद्धिदर ३.२ प्रतिशत छ । कुल जनसंख्याको १०.२ प्रतिशत मानिसहरु ६० वर्ष भन्दा माथीको उमेरका छन्।
सम्मेलनमा पत्रकार तथा जनसंख्या विष्लेषक चेतन अधिकारीले ज्येष्ठ नागरिक र मिडिया कभरेजका सन्दर्भमा कार्यपत्र प्रष्तुत गरेका थिए । अधिकारीको प्रष्तुतीमा ज्येष्ठ नागरिकका समाचार सञ्चार माध्यममा ज्यादै न्यून मात्रामा प्रष्तुत भएको उल्लेख गरिएको थियो । नेपालका टेलिभिजनहरुतर्फ नेपाल टेलिभिजन,सेभेन स्टार फोर केले ज्येष्ठ नागरिक सम्ब्न्धी अन्तरसंवाद नियमित गर्ने गरेको र यात्री मिडिया नामक युटुब च्यानलले पनि यस्तो कार्यक्रम नियमित गर्ने गरेको उल्लेख गरेका थिए । अधिकारीले बैशाख १६ देखि २२ गते सम्मका सात दिन गोरखापत्र,अन्नपूर्ण र अनलाइन खबरमा प्रकाशशित समाचारको अवस्था विष्लेषण गरेका थिए । जसमा सातदिनमा गोरखापत्र र अन्नपूर्ण पोस्टले ज्येष्ठ नागरिक सम्बन्धी एउटा पनि समाचार प्रकाशन गरेको पाइएन । दैनिक करिब ३ सय वटा समाचार प्रकाशन गर्ने अनलाइन खबरले एकसातामा ज्येष्ठ नागरिक सम्बन्धी जम्मा तीनवटा समाचार प्रकाशन गरेको उल्लेख गरेका थिए ।

ज्येष्ठ नागरिक सम्बन्धी समाचार भाइरल नहुने,यसमा रिर्पोटिङ गर्नका लागि कुनै पनि मिडिया हाउसले अलग्गै पत्रकारलाई जिम्मेवारी नदिने,ज्येष्ठहरुको मिडियामा पहुँच कम हुने आदि कारणले ज्येष्ठ नागरिक सम्बन्धी समाचार न्यून प्राथमिकतामा परेको उल्लेख गरेका छन् । अधिकारीले दैनिक पत्रिकाहरुलाई ज्येष्ठ नागरिक मैत्री बनाउन अक्षरको आकार बढाउन, केही विषयवश्तु ब्रेल लिपिमा प्रकाशन गर्न पनि सुझाव दिएका छन् । यसैगरी मल्टिमिडिया पनि ज्येष्ठ नागरिक मैत्री बनाउन उनको सुझाव छ । ‘ज्येष्ठ नागरिक सम्बन्धी अथाह विषयवश्तु समाजमा छन् । त्यतीकै मात्रामा तथ्यांक र प्रतिवेदन पनि छन् तर तिनलाई सञ्चार माध्यमले न्यून मात्रामा मात्र कभर गरेका छन्’ अधिकारीले भनेका छन् ‘ज्येष्ठ नागरिक मैत्री नीति बनाउन राज्यलाई सुझाव वा दबाब दिन पनि मिडियाको ठुलो भूमिका छ । ’
सम्मेलनमा कर्ण शाक्य,स्नेही सायमी,ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य,बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा,डा.रमेशबाबु काफ्ले,डा.तारा काफ्ले,डा.गणेशमान गुरुङ लगायतले ज्येष्ठ नागरिकका विविध पक्षमा आफ्ना प्रष्तुतीहरु राखेका थिए । सम्मेलनमा जापान,चीन,बंगलादेश लगायतका देशका जनसंख्या शास्त्री तथा प्राध्यापकहरुले आफ्नो देशको ज्येष्ठ नागरिक व्यवस्थापन सम्बन्धी तथ्य तथ्यांक पनि प्रष्तुत गरेका थिए ।
आयोजक प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी र ज्येष्ठ नागरिकसँगै जोडिएर आउने नाम भएकोले यो सम्मेलनको सान्दर्भिकता रहेको बताए । उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।








प्रतिक्रिया