अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुमबासी संघद्वारा भोलि ५ घण्टा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा

सुकुमबासी संघद्वारा भोलि ५ घण्टा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा


काठमाडौँ-सुकुम्बासी तथा अव्यवस्थित बस्ती खाली गराउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुम्बासी संघले भोलि वैशाख ३१ गते पूर्वपश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेको छ। 

बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्ग चक्काजाम गर्ने जानकारी दिएको हो। सुकुमबासी बस्तीहरूमा सरकारी पक्षबाट भइरहेको डोजर आतंक र उठिबासको प्रतिवाद गर्न यो कदम चाल्नुपरेको संघले जनाएको छ।

संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्वासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्वासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाए। 

यातायात व्यवसायी, सुरक्षा निकाय र प्रशासनलाई गरिब जनताको अधिकारका लागि हुन लागेको यस प्रारम्भिक संघर्षमा सहयोग गर्न अध्यक्ष परियारले अनुरोध गरे। उनले सुकुमबासीहरूलाई होल्डिङ सेन्टरमा राख्ने नभई जमिनकै व्यवस्थापन गरेर स्थायी समाधान खोज्न सरकारसँग माग गरे। 

सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उनले यसको निन्दा गरे। सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने उनको भनाइ थियो। 

संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले वर्तमान सरकारले नागरिकको आवास अधिकार र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले बालेन शाह जनताको अभिभावकभन्दा पनि तानाशाह भएको आरोप समेत लगाए।

घोषित चक्काजाम कार्यक्रमलाई अन्य सुकुमबासी संगठनहरूले पनि ऐक्यबद्धता जनाएका छन्। नेपाल सुकुमबासी तथा अव्यवस्थित बसोवासी संघका अध्यक्ष राजकुमार पाण्डेले ७७ वटै जिल्लाका सदस्यहरूलाई संघर्षमा उत्रन आह्वान गरे। 

त्यस्तै सुकुमबासी संघका अध्यक्ष एवं संयुक्त सुकुमबासी मोर्चाका महासचिव अर्जुन कुँवरले विकल्पविना सुकुमबासीमाथि डोजर चलाउनु गलत भएको बताउँदै चक्काजाममा साथ दिन अपिल गरे।

अखिल नेपाल सुकुमबासी संघका महासचिव प्रकाश खरेलका अनुसार भोलि पूर्वपश्चिम राजमार्ग चक्काजामका साथै काठमाडौँको माइतीघर मण्डलामा संयुक्त प्रदर्शन समेत गरिनेछ। संघका उपाध्यक्ष लीला मोक्तानले चक्काजाम गर्नु आफूहरूको रहर नभई नागरिक अधिकार रक्षाका लागि बाध्यता भएको उल्लेख गरिन्। सुकुमबासी नेताहरूले यो आन्दोलनमार्फत सरकारलाई आफ्ना मागहरूप्रति गम्भीर बन्न चेतावनी दिएका छन्।