काठमाडौं-कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरेको हो ।
काठमाडौँको कीर्तिपुरमा २०८३ वैशाख २३ गते गुल्मीको धुरकोटका विपिन घिमिरेको खुकुरी प्रहार गरि हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोप लागेका त्यतिबेला अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट पक्राउ परेका थिए ।
सुजन लुगेर बसेको सूचनाका आधारमा बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चोभार पुगेको थियो। प्रहरी टोलीले उनलाई नियन्त्रण लिन खोज्दा आक्रमण गरेको काठमाडौँ उपत्याका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए।
प्रहरीमाथि आक्रमण गरेपछि दुई राउन्ड गोली चलानु परेको एसएसपी खड्काको भनाइ छ। ‘उनलाई नियन्त्रणमा लिएका छौँ, अहिले बल्खुको बयोदा अस्पताल लगेका छौँ,’ खड्काले भने।
सामान्य विषयमा विवाद हुँदा विपिनमाथि खुकुरी प्रहार भएको थियो। गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।




प्रतिक्रिया