अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरला नाकाबाट भन्सार छलेर ल्याइएको ६ सय कार्टुन ‘भेप’ बरामद

कोरला नाकाबाट भन्सार छलेर ल्याइएको ६ सय कार्टुन ‘भेप’ बरामद


मुस्ताङ-नेपाल-चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ। कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो।

कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए।

शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो ।

मुस्ताङ भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षा निकायले अवैध रूपमा लुकाईछिपाई विद्युतीय चुरोट (भेप) लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो।

भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको जनाएको छ। उक्त संख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी विद्युतीय चुरोट (भेप) रहेको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले हाल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको रोहवरमा बरामद गरिएका भेपको परिमाण र अनुमानित मूल्यको भन्सार मुचुल्का गर्ने तयारी गरिहेको जनाएको छ। कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

कोरलास्थित स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुई वटा कन्टेनर नेपाल-चीन कोरलानाकाको २४ नं सीमास्तम्भ नजिक दुई दिनसम्म शंकास्पद रूपमा रोकिएका थिए।

चिनियाँ भन्सारबाट मालवस्तु लोड गरिएर कोरलानाकाबाट नेपाल भित्रिएका दुई कन्टेनर तल नझरेपछि भन्सार कार्यालयले कडा निगरानी बढाएको थियो । स्रोतका अनुसार अवैध रूपमा भेप ओसारपसार गर्ने गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई देखाउने नक्कली कागजपत्र तयार पारिराखेको बताइएको छ।

यसअघि चालु वर्षको पुस ९ गते पनि कोरलानाकाबाट दुई करोड २४ लाख मूल्य बराबरको १६ हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो । यसैगरी, गत वर्ष कोरलानाकाबाट भित्रिएका रु ६ करोड ८१ लाख मूल्य बराबरको विद्युतीय चुरोट (भेप) भन्सार र सुरक्षा निकायको टोली बरामद गरेको थियो ।