अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा डा. शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा डा. शर्माको नाम अनुमोदन


काठमाडौँ-सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। मंगलबार बसेको समिति बैठकमा शर्माको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएसँगै उनको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रुपमा अनुमोदित भएको हो। 

संसदीय सुनुवाई समिति कार्यासञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित भएको सभापति बोधनारयणा श्रेष्ठले जानकारी दिए ।

वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम अनुमोदन गरेको थियो ।  शर्मा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट शपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानेछन् ।  प्रधानन्यायाधीशको रुपमा शर्माले ६ वर्ष काम गर्नेछन् । अर्थात शर्मा २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्वमा हुनेछन् । 

२०७६ वैशाख ६ मा सर्वोच्च अदालत प्रवेश गरेका शर्माको जन्म २०२७ असार ४ गते पर्साको वीगञ्जमा भएको हो । शर्माले नेपाल ल क्याम्पस, काठमाडौँबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् । 

कानुन व्यवसायी पृष्ठभूमिका शर्मा विभिन्न कम्पनी र संस्थाहरूको कानुनी सल्लाहकार भएर निर्वाह गरेका थिए । २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएका थिए । आफ्नो करियरको क्रममा, उनले नेपाल र विदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका थिए ।

शर्मा प्रधानन्यायाधीश हुँदा उनको कार्यकाल कायम रहँदासम्म सर्वोच्च अदालतका ११ जना न्यायाधीशको अवकाश हुनेछन् । उनको कार्यकाल अवधिभरमा सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, शान्तिसिंह थापा, शारंगा सुवेदी, मेघराज पोखरेल र श्रीकान्त पौडेलले अवकाश पाइसकेका हुनेछन् । शर्मा प्रधानन्यायाधीशका अवकाश हुँदा पनि न्यायाधीश हरि प्रसाद फुयाँलको कार्यकाल ३ वर्ष बाँकी रहनेछ ।