अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनका लागि रकम तोकेर सहयोग मागेको रास्वपाको पत्र सार्वजनिक

महाधिवेशनका लागि रकम तोकेर सहयोग मागेको रास्वपाको पत्र सार्वजनिक


कञ्चनपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेर आर्थिक सहयोग मागिएको पत्र सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वडा समितिको नामबाट एक निर्माण व्यवसायीसँग ३० हजार रुपैयाँ आर्थिक सहयोग मागिएको पत्र सार्वजनिक भएको हो। उक्त पत्रमा वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको देखिन्छ।

जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गरिएको पत्रमा कम्पनीले विगतदेखि वडाभित्र विभिन्न विकास निर्माणका काम गर्दै आएको तथा स्थानीय समुदायसँग सहकार्य गर्दै आएको उल्लेख गरिएको छ। साथै, २०८३ असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन र २०८३ असार ७, ८ र ९ गते आयोजना हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आर्थिक स्रोत आवश्यक परेको भन्दै ३० हजार रुपैयाँ सहयोगको अपेक्षा गरिएको जनाइएको छ।

पत्र सार्वजनिक भएपछि राजनीतिक दलका कार्यक्रमका लागि व्यवसायीसँग रकम मागिएको विषयलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन्। विशेषगरी रकम नै तोकेर सहयोग मागिएको विषयले थप चासो बढाएको छ।

यता, पत्रमा उल्लेख गरिएजस्तो अधिवेशनका लागि रकम नउठाइएको भन्दै वडा सभापति बोहराले भने फरक दाबी गरेका छन्। उनका अनुसार सडक मर्मतका लागि सहयोग जुटाउने उद्देश्यले पत्र पठाइएको भए पनि त्यसमा अधिवेशनसम्बन्धी विवरण समावेश भएको रहेछ।

‘सडक मर्मतका लागि सहयोग माग्ने उद्देश्य थियो। साथीहरूमार्फत पत्र पठाउँदा अधिवेशनका लागि सहयोग चाहिएको भन्ने व्यहोरा समावेश भएको रहेछ,’ बोहराले भने, ‘विषय जानकारीमा आएलगत्तै उक्त पत्र फिर्ता ल्याइएको छ।’

सार्वजनिक भएको पत्र र वडा सभापतिको स्पष्टीकरणबीच फरक देखिएपछि घटनाबारे थप स्पष्टता आवश्यक रहेको स्थानीयको भनाइ छ। यस विषयमा रास्वपाको जिल्ला तथा प्रदेश नेतृत्वले भने औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

Top of Form

Bottom of Form

Skip This