काठमाडौं- कैलालीको गोदवारी ४ स्थित भिमदत्त राजमार्ग किनारमा व्यापार गरिरहेकी महिलाको टेम्पो धकेलेर भीरबाट खसालिदिएको घटना अनुसन्धान गर्न प्रहरीले ११ जना सरकारी कर्मचारी नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महराका अनुसार त्यहाँको प्रहरी हिरासतमा चार जना सरकारी कर्मचारी राखिएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थप सात जना कर्मचारी राखिएका छन्।
कुल ११ जना कर्मचारी नियन्त्रणमा लिइएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए। गोदावरी नगरपालिका ४ बासपानीको गाइमारे डाँडामा स्थानीय धनादेवी धामीको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएका थिए । धामी सडक किनारमा टेम्पो रोकेर चाउचाउ,अण्डा,विष्कुट लगायतका सामग्री बेचेर जिविकोपार्जन गरिरहेकी थिइन् ।
तर त्यसरी सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको अटो आफैले धकेलेर भीरबाट खसालिदिएका थिए।
शुक्रबार दिउँसोको यो घटनाबारे शनिबार सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि प्रहरीले पीडित महिलालाई बोलाएर सोधपुछ गरेको थियो।






प्रतिक्रिया