रूपन्देही-नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा निर्वाचन–२०८२ को समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय भेलामा उठेका सुझावहरू पार्टी सुदृढीकरण र पुनर्गठनका लागि महत्वपूर्ण आधार बन्ने बताएका छन्।
कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सहभागी नेता तथा कार्यकर्ताले दिएका सुझावहरूलाई कार्यदलले गम्भीरतापूर्वक ग्रहण गरेको र ती सुझावहरू आगामी कार्यदिशा तय गर्न उपयोगी हुने बताए।
उपाध्यक्ष पौडेलले एमालेमा विचार, बहस र छलफललाई प्रोत्साहन गर्ने परम्परा रहेको उल्लेख गर्दै पार्टीभित्र हुने बहस स्वस्थ, मर्यादित तथा विधिसम्मत हुनुपर्ने धारणा राखे। उनले रचनात्मक बहसले सही निष्कर्षमा पुग्न मद्दत गर्नुका साथै संगठनात्मक एकतालाई अझ बलियो बनाउने बताए।
लुम्बिनी प्रदेशमा कम्युनिष्ट आन्दोलनले पछिल्लो समय अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै उनले त्यसबाट पाठ सिकेर आत्मसमीक्षा, संगठन पुनर्गठन र कार्यशैली सुधारमार्फत नयाँ उत्साहका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
पौडेलले भेलामा व्यक्त भएका सुझाव र धारणा कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने जानकारी दिँदै सहभागी सबै नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरे। उनले पार्टीलाई थप जनमुखी, संगठित र प्रभावकारी बनाउन सबै तहका नेता–कार्यकर्ताको सक्रिय भूमिका आवश्यक रहेको समेत बताए।






प्रतिक्रिया