अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीको मृत्युपछि सडकदेखि सदनसम्म प्रधानमन्त्री शाहको राजीनामा माग

गणेश नेपालीको मृत्युपछि सडकदेखि सदनसम्म प्रधानमन्त्री शाहको राजीनामा माग


काठमाडौं-मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गर्दै संसद् र सडकबाट सरकारविरुद्ध चर्को विरोध सुरु भएको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेका उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो।

घटनापछि सरकारको भूमिकामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सांसदहरूले प्रधानमन्त्री शाहको मौनता र सरकारको जिम्मेवारीबारे प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको मृत्युप्रति सरकार संवेदनशील नदेखिएको आरोप लगाइन्। उनले विपक्षमा हुँदा राज्यका कमजोरीमाथि कडा प्रश्न उठाउने प्रधानमन्त्री शाह अहिले सरकारको नेतृत्वमा रहँदा किन मौन बसेको भन्दै प्रश्न गरिन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गरिन्।

‘प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं तर आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ ?,’ थापाले प्रश्न गरिन्। 

सरकारले नागरिकको सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री शाहको आलोचना गरिन्। कालो चस्मा लगाएर जनताका समस्या देख्न नसकेको उनको टिप्पणी थापाले भनिन्, ‘अब कालो चश्मा खोल्ने बेला आएको छ।’

राष्ट्रियसभामा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले सरकारको क्रूरता र संवेदनहीनताका कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको दाबी गरे। आगोले जलेर छटपटाइरहेका व्यक्तिमाथि समेत अमानवीय व्यवहार गरिएको आरोप लगाउँदै उनले सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

‘आगोमा जलेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याइन्छ। यस्तो क्रूर सरकार कुर्सीमा टाँसिइरहन उचित छैन,’ उनले भने, ‘नैतिकता छ भने बालेन सरकार राजीनामा गरेर सडकमा आउनुपर्छ।’

संसद्सँगै सडकमा पनि विरोध प्रदर्शन चर्किएको छ। शुक्रबार माइतीघर मण्डलामा भेला भएका युवाहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रदर्शनकारीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना, नगर प्रहरीको व्यवहार तथा राइडरहरूको हकहित संरक्षणका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटना निम्तिएको आरोप लगाएका छन्। उनीहरूले राज्य संयन्त्र गरिब तथा श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको जिकिर गर्दै गणेश नेपालीको मृत्यु राज्यको निरंकुशता र प्रशासनिक दबाबको परिणाम भएको बताएका छन्।

गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राजनीतिक दबाब बढ्दै जाँदा सरकारले घटनाबारे औपचारिक धारणा सार्वजनिक गर्ने र छानबिन प्रक्रिया अघि बढाउने विषयमा समेत चासो बढेको छ।

यसअघि २०७९ साल माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। आचार्यको त्रासदीपूर्ण दुःखान्त घटना सेलाउन नपाउँदै नेपालीको मृत्युले राज्यको चरित्रबारे नै गम्भीर प्रश्न उठाएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले सरकारको आलोचना गरेका छन्।

Skip This