काठमाडौं-प्रधानमन्त्री बालेन साहले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री साहले यसअघि विभिन्न देशका राजदूतसँग सामूहिक रूपमा भेटवार्ता गर्ने नीति लिँदै अलग–अलग भेटवार्ता गर्न अस्वीकार गर्दै आएका थिए। तर, सोमबार भने उनले नेपालका दुई प्रमुख छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार साहले सोमबार बिहान ११ बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्। त्यसैगरी, दिउँसो ३ बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यक्रम तय भएको छ।
गत मार्च २७ मा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिएका साहले पदभार ग्रहण गरेको करिब चार महिनापछि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट गर्न लागेका हुन्।
यसअघि अप्रिल ८ मा प्रधानमन्त्री साहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
आज हुने भारत र चीनका राजदूतसँगको छुट्टाछुट्टै भेटलाई प्रधानमन्त्री साहको छिमेकी मुलुकसँगको कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया