अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्यालयको निर्देशन

सरकारी कार्यालयका निवेदन ढाँचा प्रभावकारी कार्यान्वयन गर्न सरकारको निर्देशन

सरकारी कार्यालयका निवेदन ढाँचा प्रभावकारी कार्यान्वयन गर्न सरकारको निर्देशन


काठमाडौँ-सरकारले सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३ प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो।

यो मार्गदर्शनले विभिन्न सरकारी कार्यालयहरूमा सेवा प्राप्त गर्नका लागि पेस गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योललाई हटाएर देशैभर एउटै र निश्चित ढाँचा कायम हुने अपेक्षा गरिएको छ।

साथै, यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउँदै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउनेछ ।

यस व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै अब नागरिकले सरकारी कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने वा अन्योलमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एपमार्फत सजिलै लिन सकिने बाटो खुला भएको छ, जसले डिजिटल नेपालको परिकल्पनालाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

सरकारी आवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट शून्यमा झार्दै कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण कार्यलाई निरुत्साहित गर्न पनि यो मार्गदर्शनले महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको अपेक्षा छ । मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ ।