काठमाडौ-पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट प्रहरीले पक्राउ गरेको हाे।
श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडिएकी ती युवतीले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी दिएकी थिइन्।
साथै उनले एक भिडियो सन्देश जारी गर्दै सो फोटो गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको र त्यसमा कुनै सत्यता नभएको बताएकी छन्।
श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।


प्रतिक्रिया