अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी गैरन्यायिक र प्रतिशोधपूर्ण: महासचिव पोखरेल

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी गैरन्यायिक र प्रतिशोधपूर्ण: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रता विरोधी कदम भएको बताएका छन्। बुधबार जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । 

महासचिव पोखरेलले  श्रेष्ठमाथिको गैरन्यायिक र प्रतिशोधपूर्ण गिरफ्तारीको कडा विरोध गरेका छन्। उनले  समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुँदा खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहेको बताउँदै श्रेष्ठको गिरफ्तारी  प्रेस स्वतन्त्रता विरोधी कदम भएको बताएका छन्। 

महासचिव पोखरेलले भनेका छन्– ‘कहिलेकाहीँ समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुन सक्छ, त्यसका लागि खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहन्छ। तर, समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रता विरोधी कदम हो।’

महासचिव पोखरेलले श्रेष्ठ निडर र साहसिक पत्रकारिताका लागि परिचित रहेको उल्लेख गर्दै अग्रज पत्रकारहरूको आवाज दबाइएमा धेरै सत्य र रहस्य सधैँका लागि हराउने जोखिम रहेको बताएका छन्। श्रेष्ठमाथिको गिरफ्तारीलाई ‘गैरन्यायिक र प्रतिशोधपूर्ण’ भन्दै पोखरेलले कडा विरोध जनाएका छन्।

महासचिव पोखरेलले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग समेत गरेका छन्।

यसैबीच, पत्रकार श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट प्रहरीले पक्राउ गरेका थिए। उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले जनाएको छ।

२०८३ साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा नाम जोडिएकी एक युवतीले आफ्नो व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन्।

जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै श्रेष्ठलाई पक्राउ गरेको हो। सम्बन्धित युवतीले भिडियो सन्देश जारी गर्दै आफ्नो तस्बिर गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको र त्यसमा कुनै सत्यता नरहेको दाबीसमेत गरेकी छन्।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।