काठमाडौं-समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार जारी गरेको विज्ञप्तिमा यही साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको जनाइएको छ।
पक्राउलगत्तै समाचारको स्रोत खोज्ने उद्देश्यले प्रहरीले राति करिब १ बजे श्रेष्ठको घरमा तथा बिहीबार बिहान उहाँको कार्यालयमा समेत खानतलासी गरेको जानकारी प्राप्त भएको महासंघले जनाएको छ।
समाचारमा चित्त नबुझेका विषयमा आवश्यक प्रक्रिया अघि बढाउने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको रहेको उल्लेख गर्दै महासंघले सरकारी संयन्त्रको प्रयोग गरी पत्रकार श्रेष्ठमाथि गरिएको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानको मर्मविपरीत रहेको ठहर गरेको छ।
महासंघले उक्त घटनाले लोकतान्त्रिक मूल्य–मान्यता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको जनाएको छ। साथै, सरकारको यस्तो स्वेच्छाचारी शैलीप्रति खेद व्यक्त गर्दै घटनाको कडा भर्त्सना गरेको छ।
महासंघले प्रेसविरोधी व्यवहार तत्काल सच्याउन, पत्रकार श्रेष्ठलाई बिनाशर्त रिहा गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ। समाचारसँग सम्बन्धित विषय भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्नसमेत महासंघले आग्रह गरेको छ।
साथै, आफ्नो क्षेत्राधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई पनि महासंघले आग्रह गरेको छ।



प्रतिक्रिया