काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीलाई भेट्न प्रधानसेनापति सिग्देल प्रधानमन्त्री कार्यालय पुगेका हुन्। भेटवार्ता जारी रहे पनि छलफलको विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री कार्यालय स्रोतले सिग्देल र प्रधानमन्त्रीबीच भेटघाट भइरहेको पुष्टि गरे पनि के विषयमा छलफल भइरहेको भन्नेबारे आफूहरूलाई जानकारी नभएको जनाएको छ। यस्तै, नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि उक्त भेटबारे विस्तृत जानकारी नरहेको बताएका छन्।
रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच नियमित रूपमा भेटघाट हुने गरेको सेनाले जनाएको छ। यसअघि पनि साउन १९ गते दुवैबीच भेटवार्ता भएको थियो।
त्यतिबेला गोकर्णस्थित नेपाल ट्रष्टको जग्गामा सैनिक अधिकारीको असहमतिकाबीच प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेको नेतृत्वमा डोजर चलाइएको विषय मुख्य छलफलको एजेन्डा बनेको बताइएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उक्त भेटमा सेनापति सिग्देलले त्यस विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानमन्त्री र प्रधानसेनापतिको उक्त भेटपछि सांसद पाण्डेले पनि विज्ञप्ति जारी गर्दै गोकर्णको जग्गा प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।


प्रतिक्रिया