काठमाडौं-सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। उनको दाबीमा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन जनाएका थिए।
दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका थिए। यसअघि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार आह्वान गरेका थिए।
मुख्यमन्त्री भट्टको शपथसँगै एमालेको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथको तयारीसमेत भइरहेको छ। नयाँ सरकार गठनसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता सञ्चालनले पूर्णता पाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया