विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिँदै छन्। विश्वासको मतको मतदानअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश नेकपा संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको नेकपाका नेता राजेन्द्र राईले जानकारी दिए। यसअघि नेकपा विश्वासको मतको विपक्षमा उभिने चर्चा भए पनि अन्ततः पार्टीले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। नेकपा र एमालेबीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणसमेत भइसकेको छ।
मुख्यमन्त्री कार्कीलाई एमालेले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतको मतदानमा तटस्थ बस्ने भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। कांग्रेसले २०८३ भदौ ३ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेको छ।
२०८३ साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। त्यसपछि प्रदेश सरकारको नयाँ सत्ता समीकरण बनेको हो। संविधानको धारा १६८(५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिँदा उपस्थित ६२ सांसदमध्ये ५७ जनाको समर्थन पाएका थिए भने ५ जना तटस्थ बसेका थिए।
त्यसपछि एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन परिवर्तन भई कांग्रेससँग सहकार्य बनेपछि कार्कीले दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए। त्यतिबेला ८३ सांसद सहभागी भएको मतदानमा कार्कीको पक्षमा ६६ मत र विपक्षमा १५ मत परेको थियो।
९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपाका १७, राप्रपाका सभामुखसहित ५ तथा जसपाका १ सांसद रहेका छन्। वर्तमान शक्ति समीकरणका आधारमा मुख्यमन्त्री कार्कीले आवश्यक बहुमत सहजै प्राप्त गर्ने अनुमान गरिएको छ।


प्रतिक्रिया