अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

appharu
0
Shares

काठमाडौं । बैतडीको डोगदाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमबाट भागरथीको बलात्कार पछि हत्या भएको निष्कर्ष निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका एक अधिकारीका अनुसार पोस्टमार्टममा संलग्न चिकित्सकहरुले भागरथीको बलात्कार पछि हत्या भएको रिपोर्ट दिएका छन् ।

प्रतिकार गर्दा शरीरको टाउको र हातमा चोट लागेको पनि निष्कर्ष निकालिएको छ । प्रहरीका अनुसार भागरथीको भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

बुधबार बिहान घरबाट विद्यालयका लागि निस्किएकी भागरथी विद्यालयबाट घर फर्किने क्रममा ‘बेपत्ता’ भएकी थिइन् ।

गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा मक्षा १२ मा अध्ययनरत भागरथी साँझसम्म पनि घर नफर्किएपछि प्रहरीसहित परिवारका सदस्यले खोजी गर्ने क्रममा बिहीबार राति घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनको जंगलमा विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानकै क्रममा उनको बलात्कार पछि हत्या गरिएको आशंका गरे पनि प्रहरीले घटनामा संलग्नहरुलाई भने पहिचान गर्न सकेको छैन ।

शव फेला परेको ४ दिनसम्म पनि घटनामा संलग्नहरु पक्राउ नपरेको भन्दै आफन्तहरुले शव बुझ्न समेत अस्वीकार गरेका हुन् । घटनास्थलको मुचुल्का बनाएर शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी ल्याइएकोमा शव परीक्षण कार्य (पोस्टमार्टम) सकिएपछि स्थानीय प्रशासनले आइतबार आफन्तलाई भागरथीको शव बुझाउन खोजेको थियो । तर, आफन्तले भने हत्यारा पक्राउ नपरेसम्म शव बुझ्न अस्वीकार गरेका छन् ।

मृतक किशोरीका काका शिवराज भट्टले घटनामा संलग्नहरु पत्ता लागेर अनुसन्धानको निक्र्यौल नभएसम्म शव नबुझ्ने बताए । भागरथीको शव फेला परेकै ४ दिन भइसक्दा पनि उनको बलात्कार पछि हत्यामा संलग्न व्यक्ति भने पक्राउ परेका छैनन् । प्रहरीले भागरथीको शव फेला परेको ठाउँमा फुटेको अवस्थामा उनको मोबाइल समेत बरामद भएको जनाएको थियो ।

मोबाइल रिकभर गरी ‘डाटा’ केलाउने क्रममा घटनासँग सम्बन्धित केही ‘क्लु’ फेला परेका प्रहरीको दाबी छ । भागरथीको बलात्कार पछि हत्या प्रकरणमा जारी अनुसन्धानको सुपरीवेक्षण गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आइतबार आफैं घटनास्थल पुगेका छन् । भागरथीको बलात्कार पछि हत्या प्रकरणमा स्थानीय (बैतडी) प्रहरीसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत परिचालन भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको निर्देशनमा संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित शुक्रबार नै घटनास्थलतर्फ गएको थियो । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत बैतडी पठाइएको छ । सीआईबीका डिएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बैतडी पुगेको हो । बाखु नेतृत्वको सीआईबीको टोलीले यसअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा समेत अनुसन्धानमा खटिएको थियो ।

२ वर्ष अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘फितलो’ बन्दा घटनामा संलग्न अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । भागरथीको हविगत पनि निर्मलाको जस्तै हुने भन्दै बैतडीका स्थानीय, आफन्त र पीडित परिवारले चिन्ता व्यक्त गरेका छन् ।