अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाउनुपर्छ

सबै नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाउनुपर्छ


७१औं राष्ट्रिय प्रजातन्त्र दिवस-२०७७ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु। यस अवसरमा १०४ वर्षे जहाँनिया निरंकुश राणा शासन अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न तथा त्यसपछिका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

निरंकुश राणा शासनको अन्त्य गर्दै २००७ सालमा स्थापित प्रजातन्त्रिक शासन व्यवस्था जोगाउन नसक्दा मुलुक पुनः तीन दशक तानाशाही पञ्चायती व्यवस्थाको सामना गर्न बाध्य भयो। निरंकुशताको विरुद्ध लोकतन्त्रबादी राजनीतिक दल र सम्पूर्ण नेपाली जनताको निरन्तरको संघर्षबाट बहुदलीय प्रजातन्त्र हुँदै देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको छ। नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान-२०७२ जारी भएको हो। सबै आन्दोलनमा प्रतिबिम्वित जन इच्छाअनुसार नै आज हामीले गर्वका साथ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौं। नेपालको संविधानले प्रजातन्त्रका मुलभूत मान्यताहरु: कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवअधिकार, मौलिक अधिकार, बालिग मताधिकार सुनिश्चित गरेको छ। त्यसैगरी वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक समानता संविधानको मूल विशेषता हुन्।

लोकतान्त्रिक शासन व्यवस्थासँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण नेपाली जनताको चाहना हो। मुलुकमा आर्थिक सक्षमता, सामाजिक तथा सांस्कृतिक सद्भाव तथा ऐक्यबद्धता भएमात्रै नेपालको संविधानले परिकल्पना गरेको समाजवाद हासिल गर्न सम्भव हुन्छ। संघीय व्यवस्थाअनुसार स्थापित तीन तहका सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न क्रियासिल रहेका छन्। दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रजातन्त्रका आधारभूत मुल्य मान्यताहरुलाई जीवन पद्धतिको रुपमा आत्मसाथ गरेर अघि बढ्ने प्रेरणा आजको दिनले प्रदान गर्ने विश्वास लिएको छु।

अन्त्यमा, सम्पूर्ण नेपालीले प्रजातन्त्रको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न आग्रह गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को अवसरमा सम्पूर्ण नेपालीहरुमा पुन: शुभकामना व्यक्त गर्दछु।