अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भाञ्जा अपहरण गरी १ करोड फिरौती माग्ने मामा सार्वजनिक

भाञ्जा अपहरण गरी १ करोड फिरौती माग्ने मामा सार्वजनिक


धनुषा- आफ्नै भाञ्जा अपहरणको गरेर १ करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगराइन नगरपालिका-६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका-७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

महोत्तरीको साबिक दनौली-७ र अहिलेको पिपरा गाउँपालिका-७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने नातामा नाबालकका मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

शनिबार दिउँसो १ बजेदेखि हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा मोबाइलबाट फोन गरी बालकको आमासँग १ करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोनमार्फत सीमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खबर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले जनाउनुभयो ।

प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न बालकका मामासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।