अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघका दुई रणनीति : ५ लाख सदस्य, साइबर सेना

युवा संघका दुई रणनीति : ५ लाख सदस्य, साइबर सेना


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थापन पक्षधर युवा संघ नेपालले दुई महत्वपूर्ण रणनीति अघि सारेको छ ।

संघले दुई महिनामा ५ लाख सदस्यता पुर्‍याउने र साइबर सेना परिचालन गर्ने दुई रणनीति तयार गरेको हो ।

युवाहरूलाई समृद्धिमा जोड्ने र उनीहरूको प्रभावकारी परिचालनका लागि महत्वपूर्ण योजना अघि बढाएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई समेत सहयोग पुग्नेगरी युवा संघले देशभरिका युवालाई सक्रिय राजनीतिमा जोड्ने योजना अघि सारेको हो ।

यससँगै युवासंघले आफ्नो संगठनमा ५ लाख सदस्यता पुर्‍याउने र सामाजिक सञ्जाललाई थप जिम्मेवार बनाउन साइबर सेना नामक दस्ता तयार पार्ने अभियानलाई अघि बढाएको छ ।

‘हामीले युवासंघमा केन्द्रदेखि वडा तहसम्मका १६ देखि ४० वर्षका युवाहरूलाई सदस्य बनाएर हाम्रो सङ्गठनमा ५ लाख सदस्यता पुर्‍याउने योजनाका साथ काम सुरू गरिसकेका छौं,’ संघका अध्यक्ष वच्चनबहादुर सिंहले भन्नुभयो, ‘केन्द्र, प्रदेश र स्थानीय वडा तहसम्म बहुपदीय सङ्गठन निर्माण गरेर सदस्यता वितरण कार्य सुरू गरेका छौं ।’

साइबर सेनाले कानुन हातमा होइन, साथमा लिएर काम गर्छ
नयाँ थपिने ५ लाख सदस्यतामध्येबाट बढीभन्दा बढी संख्यामा साइबर सेना निर्माण गरिने संघले जनाएको छ ।

संघको केन्द्रदेखि वडा कमिटीसम्मै साइबर सेना विभाग गठन गरी युवाहरूलाई यसमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

“साइबर सेना भनेको बिना बर्दीको, बिना हतियारको र बिना क्याम्पको युवाहरूको समूह हो,” अध्यक्ष सिंहले नेपाली बहससँग भन्नुभयो ।

साइबर सेनाले विशेष गरी सामाजिक सञ्जाल फेसबुक, ट्वीटर साथै डिजिटल साइटहरूमा पोस्ट भएका भिडियोहरूमा समाज र राष्ट्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई गालीगलौज, अपशब्द र चरित्रहत्या हुने प्रकारका सामग्रीहरूको पनि साइबर सेनाले निगरानी राख्ने उहाँले जानकारी दिनुभयो ।

“सबैलाई लेख्न, बोल्न, विचार आदान–प्रदान गर्न पाउने अधिकार छ । हामीलाई सामाजिक सञ्जाल प्रयोग गर्ने स्वतन्त्रता पनि छ । तर यसो भन्दैमा राष्ट्रका उच्चपदस्थ व्यक्तित्वहरूप्रति गालीगलौजको भाषा प्रयोग गर्ने, नचाहिँदो विषयमा अनावश्यक रूपमा जोडेर अपमान गर्न खोज्नेलाई साइबर सेनाले निगरानीमा राख्ने छ,” अध्यक्ष सिंहले भन्नुभयो, “हामी कानूनलाई हातमा लिएर होइन, साथमा लिएर समाजिक सञ्जाल प्रयोगलाई मर्यादित बनाउछौं । कसका कारणले कसको चरित्रहत्या या आत्महत्या दुरुत्साहन भयो, त्यसको निगरानी राखी अदालतसम्म पुर्‍याउछौं ।”

“नेकपाको इतिहासमै यो नयाँ र फरक प्रकारको प्रयोग हामीले सुरू गरेका छौं । सूचना प्रविधिको अहिलेको बदलिँदो अभ्यासमा युवाहरूले पनि परिस्कृत ढङ्गबाट काम गर्नुपर्छ भन्ने हाम्रो योजना हो,” अध्यक्ष सिंहले भन्नुभयो ।

दुई महिनामा ५ लाख सदस्य

फागुन ११ र १२ गते सम्पन्न हुने युवा संघ केन्द्रीय कमिटीको बैठकपछि युवा संघ सङ्गठन निर्माणको विशेष अभियान देशभर लाने र सोही अभियानमार्फत ५ लाख सदस्य निर्माण गरिने युवा संघका महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । यो अभियानमार्फत केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, प्रदेश क्षेत्रीय निर्वाचन कमिटी, वडा कमिटी र टोल कमिटी बनाएर सदस्यता वितरण गरिने महासचिव आचार्यले जानकारी दिनुभयो ।

“सबै स्थानीय तहमा करिब ६ हजार वडा कमिटी र ३० हजार टोल कमिटी बनाएर हामी दुई महिनाभित्रमा नै ५ लाख सदस्य बनाइसक्ने छौं,” उहाँले भन्नुभयो ।