अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राविधिक शिक्षाका नाममा व्यापक अनियमितता, स्थानीय प्रशासन मौन

प्राविधिक शिक्षाका नाममा व्यापक अनियमितता, स्थानीय प्रशासन मौन


जलेश्वर- महोत्तरीमा शैक्षिक ठगहरूको खुलेयाम बिगबिगी हुँदा पनि स्थानीय सरकार र स्थानीय प्रशासन मौन बसेको भन्दै गुनासो आउन थालेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका-५ स्थित श्री माध्यमिक विद्यालय पर्सापतैलीमा प्राविधिक शिक्षा सञ्चालनका लागि सरकारबाट प्राप्त लाखौँ रुपैयाँ काम नगरी ठगी धन्दा सुरु भएको बताइएको छ ।

प्रदेश नं २ समाजिक विकास मन्त्रालयले सो विद्यालयमा सिभिल इञ्जिनीयरको कक्षा सञ्चालन गर्नका लागि गत आर्थिक वर्षमा रु २५ लाख रकम उपलब्ध गराएको थियो । तर विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा विद्यालयका प्रधानाध्यापक रञ्जय रायले मापदण्डानुसारको कुनै पनि कामै नगरी भुक्तानी लिएको रहस्य सार्वजनिक भएको छ ।

सिभिल इञ्जिनीयरको कक्षा सञ्चालन गर्नका लागि विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)बाट अनुमति लिनुपर्छ र अनुमति लिइसकेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर विद्यालयले अहिलेसम्म सिटिइभिटीबाट सिभिल इञ्जिनीयरको कक्षा सञ्चालनका लागि अनुमति लिन सकेको छैन ।

प्राविधिक शिक्षाका लागि प्रदेश सरकारबाट प्राप्त रु २५ लाख त्यस क्षेत्रमा खर्च नगरी विद्यालयले सामान्य तीनदेखि चार हजार प्रतिथान पर्ने डेस्क बेञ्च र अख्तियार दुरुपयोग अनुसन्धान विभागले छानविन गरेको जीर्ण भवनको एक कोठालाई प्लास्टर गरेर बजेटको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप स्थानीयवासी मनोज चौधरीको छ ।

स्थानीयवासी सरोज चौधरीले प्रदेश सरकारले पठाएको रकमबाट सिभिल इञ्जिनीयरको कक्षा सञ्चालनका लागि आवश्यकपर्ने सामग्री किन्नुको सट्टा विद्यालयले एक लाखजतिको बेञ्च डेस्क र कोठाको प्लास्टरमा रु दुई लाख गरी कूल रु तीन लाख खर्च गरेको देखिएको छ । तर विद्यालयले रु २५ लाखको बिलभरपाई बनाएर व्यापक अनियमिता गरेको आरोप लगाउनुभयो ।

स्थानीयवासी वासुकी चौधरीका अनुसार कोभिड–१९ का कारण विद्यालय लामो समयसम्म बन्द रहेको बेला आइसिटि संस्थाले विद्यालयलाई २४ थान कम्प्युटर दिएको थियो भने विद्यालयमा पहिलादेखि नै १५ थान कम्प्युटर रहेको थियो । तर विद्यालयका प्रधानाध्यापक राय र विद्यालय व्यवस्थापन समितिले फर्जी बिल ल्याएर उक्त कम्प्युटर प्राविधिक शिक्षाका लागि खरीद गरेको भनेर रु २५ लाख रकम अनियमितता गरेको छ ।

प्राधानाध्यापक रायले विगत १२÷१३ वर्षदेखि काम गर्दै आएकामा अहिलेसम्म कुनै पनि योजना तथा कार्यक्रमको बजेट सार्वजनिक नगरेको र प्राविधिक शिक्षाका लागि आएको रकम पनि आफू र आफू निकट व्यवस्थापन समितिका सदस्य र केही स्थानीय नेतालगायतलाई बाँडेर व्यापक भ्रष्टाचार गरेको स्थानीयवासी सन्तोष चौधरीले आरोप लगाउनुभयो । प्रअ रायसँग आयव्यय सार्वजनिक गर्न आग्रह गर्दा उल्टै आफू शिक्षक सङ्गठनको पदाधिकारी रहेको भन्दै थर्काएर पठाउने गरेको अभिभावकको भनाइ छ ।

प्रधानाध्यापक रायले आफूले कुनै किसिमको अनियमितता नगरेको बताउनुभयो । यसभन्दाअघि पनि प्रधानाध्यापक राय विभिन्न विवादमा पर्दै आएको छ । करीब १० वर्षअघि विद्यालयको दुईकोठे भवन निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय महोत्तरीले रु २४ लाख रकम विद्यालयको खातामा पठाएको थियो । तर, प्रधानाध्यापक रायले उक्त भवन नबनाएर करीब दुई वर्षजति फर्जी कागजात देखाएर उक्त रकम आफ्नो निजी काममा खर्च गरेका थिए । पछि स्थानीयवासीले विद्यालयमा पैसा आएको तर प्रधानाध्यपकले उक्त रकम आफ्नो निजी खर्चमा प्रयोग गरेको थाहा पाएपछि उनीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । रासस