अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुसुन्डा जातिको भाषा जोगाउन कक्षा सञ्चालन

कुसुन्डा जातिको भाषा जोगाउन कक्षा सञ्चालन


दाङ- लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ ।
उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा –१८ को सुपैलाखुटीको कुसुन्डा बस्तीमा कुसुन्डा भाषा कक्षा संचालन हुन थालेको हो । मावि धर्नामा १२ जनालाई भाषा सिकाउन कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक उदयबहादुर आलेले सहजीकरण गर्नुहुनेछ । यस्तै सुपैलाखुटीमा १८ जना कुसुन्डाका बालबालिकालाई भाषाका जानकार कमला कुसुन्डा र उर्मिला कुसुन्डाले सहजीकरण गर्नुहुनेछ ।

सो आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले कुसुन्डा भाषाको संरक्षणका लागि अर्को पुस्तालाई भाषा सिकाउनुपर्ने भएकाले कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका–५ रहेको महेन्द्र मावि, धर्नाको छात्राबासमा अध्ययन गर्ने कुसुन्डा किशोरीहरुलाई ९० घण्टाको कार्यक्रमअन्र्तगत दिनको दुई घण्टाका दरले ६० घण्टाको प्रत्यक्ष कक्षा हुने र बाँकी ३० घण्टा स्वाध्ययन हुने आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिनुभयो ।

उक्त कक्षामा १० जना कुसुन्डा जातिका विद्यार्थी र एक जना वादी समुदायका विद्यार्थी पनि हुनेछन् । सो उपमहानगरका प्रमुख नरुलाल चौधरीले भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा स्थानीय तहले विशेष चासो राखेर काम गर्ने जनाउनुभयो ।

आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा। लोकबहादुर लोप्चनले आफू–आफूले बोल्दा कुसुन्डा भाषा प्रयोगमा ल्याउन सकेमा भाषाको प्रयोग धेरै हुने र भाषा जीवन्त रहने बताउनुभयो ।

कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक आलेले कुसुन्डा भाषालाई जीवन्त राख्न सम्बन्धित समुदायले कथ्य परम्परालाई कायम राख्नुपर्ने बताउनुभयो ।