अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपासँगको वार्ता सकियो, नेम्वाङ भन्नुहुन्छ– ‘वार्ता असाध्यै सकारात्मक छ’

जसपासँगको वार्ता सकियो, नेम्वाङ भन्नुहुन्छ– ‘वार्ता असाध्यै सकारात्मक छ’


काठमाडौं- सत्ता समीकरणका विषयमा छलफल गर्न नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा_बीचको शुक्रबारको वार्ता सकिएको छ ।

नयाँ सत्तासमीकरणमा निर्णायक रहेको जसपाले कांग्रेससँग भन्दा एमालेसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । कार्यदलमा रहनुभएका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली बहस डट कमसँग कुरा गर्दै वार्ता असाध्यै सकारात्मक रहेको बताउनुभयो । ‘आज वा भोलि नै अर्कोपटक वार्ता हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यस वार्ताले सुखद परिणाम दिन सक्छ ।’ जसपासँग कांग्रेस र माओवादी केन्द्रले पनि वार्ता गरेको उल्लेख गर्दै उहाँले एमालेसँग हुने सहमतिमा कुनै असर नगर्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र जसपा नेताहरुबीच करिव दुई घण्टा बैठक बसेको थियो ।

बिहीबार साँझ प्रधानमन्त्रीसहितको वार्ता सकारात्मक भएपछि आज पनि दुवै पार्टीले बनाएको कार्यदलका सदस्यबीचको वार्ता भएको हो ।

जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा हुनुहुन्छ ।

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।