अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिटो निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : कमल थापा

छिटो निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : कमल थापा


हेटौँडा- राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सङ्घीय सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

शनिबार यहाँ आयोजित राप्रपा हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलामा उहाँले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष थापाले मुलुकमा सुशासन स्थापना र आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताले नेकपालाई दुई तिहाइको बहुमत दिएको उल्लेख गर्दै सो पार्टीका आन्तरिक झगडाले उग्र रुप लिँदा अहिले संसदीय प्रजातन्त्रमाथि नै सङ्कट आइपरेको आरोप लगाउनुभयो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउनेतर्फ केन्द्रित हुनुका सट्टा सरकार परिवर्तन गर्ने भूमिकामा तल्लिन हुँदा देशमा अराजकता र हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले सनातन हिन्दूधर्मको संरक्षणका लागि राप्रपा अग्रसर रहेको बताउनुभयो ।

राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले प्रजातन्त्रको मूल्य-मान्यतालाई राजनीतिक दलले आत्मसात गर्न नसक्दा अहिले मुलुक सङ्कटको धरापमा फसेको बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष रामहरि न्यौपाने, जिल्ला महिला प्रजातान्त्रिक सङ्गठनका अध्यक्ष इन्दिरा न्यौपाने र राप्रपा हेटौँडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपाले देशमा प्रजातान्त्रिक संस्कार र आर्दशलाई अवलम्बन गरेर पार्टीको सङ्गठनलाई दरिलो बनाउन जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभयो ।