अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय भइसकेको छैन’

‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय भइसकेको छैन’


काठमाडौं- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे निर्णय हुन बाँकी रहेको बताउनु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

साथै, आजको बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि माओवादी केन्द्रले २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको थियो ।

पार्टीका केन्द्रीय कमिटीका नेताहरू अर्को पार्टीमा गएको सूचना प्राप्त भए पनि त्यो हो वा होइन स्थिति प्रष्ट गर्न स्पष्टीकरण लिने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो । पार्टी एकताको उद्देश्य र मर्ममाथि प्रहार भएको विषयमा बैठकमा समिक्षा भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनबारेमा विभिन्न पार्टीसँग छलफल भइरहेको जानकारी पनि बैठकलाई गराउनुभएको थियो ।

बैठकमा प्रदेशका इन्चार्जहरूले आफ्नो प्रदेश गतिविधिबारेमा रिपोर्टिङ गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । संगठनको स्थिति र यथार्थताबारेमा बैठकलाई जानकारी गराइएको उहाँले बताउनुभयो । भोलि ११ बजे पुनः केन्द्रीय कमिटी बैठक बस्ने उहाँले बताउनुभयो ।