अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन

कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन


बागलुङ- पश्चिम नेपालको समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ ।

बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ ।

विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत् विकास विभागका इञ्जीनियर रवि नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि क्षेत्र निर्धारणको काम भइरहेको छ ।

आठ सय ४४ मेगावट विद्युत् उत्पादन गर्ने गरी निर्माण गर्ने भनिएको प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालमै सबैभन्दा ठूलो जलविद्युत् आयोजना रहेको छ । विद्युत् विकास विभाग प्रस्तावक रहेको यस आयोजनाको अहिले प्रभावित क्षेत्र, डुबान क्षेत्र, बाँध र विद्युत्गृह निर्माण गर्ने क्षेत्र निर्धारणका लागि काम भइरहेको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका, पर्वतको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजना क्षेत्र निर्धारणको काम भइरहेको अध्ययनको जिम्मा पाएको जेभी स्मेक इन्टरनेशनल अष्ट्रेलिया र जेड कन्सल्ट नेपालले जनाएका छन् ।

अहिले सात पालिकामा प्रभावित हुनसक्ने वडा र सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्राणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्राणाली र आर्थिक प्रणालीका लागि सुझाव सङ्कलनसमेत भइरहेको छ । यसका लागि ती परामर्शदाताले सार्वजनिक सूचना निकाल्ने, सार्वजनिक सुनुवाइ गर्नेलगायतका काम गरिरहेको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि पहलकदमी गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

उहाँले यसलाई जलविद्युत्सँगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव दुई वर्षअघि मन्त्रालयमा पुर्‍याएकामा अहिले काम सुरू भएको बताउनुभयो । रासस