अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा शंकर पोखरेलकै साथमा छ : संसदीय दलका नेता पाण्डे

जसपा शंकर पोखरेलकै साथमा छ : संसदीय दलका नेता पाण्डे


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोष पाण्डेले आफ्नो पार्टी मुख्यमन्त्री शंकर पोखरलकै साथमा रहेको बताउनुभएको छ ।

साथै, उहाँले प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्तावमा आफ्ना पार्टीका सांसद हस्ताक्षर पनि नगरको बताउनुभयो । जसपा संसदीय दलको बैठक पनि नबसेको र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कुनै निर्णय पनि नभएको उहाँले बताउनुभयो । ‘जसपा पार्टीको नाम होला अविश्वास प्रस्तावमा तर त्यसमा सिंगो जसपा एक छैन,’ पाण्डेले आईएनए न्युज एजेन्सीसँग भन्नुभयो ।

जसपा सांसद कल्पना पाण्डेले मुख्यमन्त्रीलाई हटाउने प्रस्तावबारे आफू बेखबर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म त पार्टीको निर्देशन मान्छु, पार्टीबाट अहिलेसम्म सरकारको विपक्षमा जान कुनै खालको फोन आएको छैन् ।’ जसपाका अरू दुई सांसद विजय यादव र सुमन रायमाझी पनि मुख्यमन्त्री पोखरेलकै पक्षमा हुनुहुन्छ ।

तर, जसपाका अर्का सांसद सहसराम यादवले भने मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा जसपामा पाँच सांसदको हस्ताक्षर भएको दाबी गर्नुभयो ।

कल्पना पाण्डे जिल्लाबाहिर भएकाले उहाँबाहेका अरू पाँच जनाको हस्ताक्षर भएको उहाँको दाबी छ । तर, सन्तोष र कल्पनाले भने आफूहरू सरकारकै पक्षमा रहेको र कहीँकतै आफूहरूको हस्ताक्षर नभएको बताउनुभयो । सहसराम अफवाह फैलाउन आफूहरूको नाम जोडेर झुटो प्रचार गरेका कल्पनाले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका दुई सांसदले सोमबार प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका ४१, माओवादीका २० कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेश सभा सदस्य छन् । एमालेमा लागेका दुई जनालाई कारबाही गरेपछि अब माओवादीका १७ सांसद छन् । नयाँ सरकार बनाउन ४३ सांसद चाहिन्छ ।