अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख नाघ्यो


नयाँदिल्ली- भारतमा कोरोना संक्रमितको संख्या एक करोड ८० लाख नाघेको छ । बुधबार एकैदिन ३ लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ८३२ पुगेको सो मन्त्रालयले जनाएको छ ।

एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष सुरू भएयताकै यो सबभन्दा धेरै भएको समाचारमा जनाइएको छ । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो आठौं दिन भएको बताइएको छ । कोरोना महामारी सुरू भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

भारतमा हाल ३० लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ५० लाख ८६ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म १५ करोड भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ, भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ बुधबार एकैदिनमा २५ हजार ९८६ जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र ३६८ जनाको मृत्यु भएको छ । दिल्ली कोरोना सुरू भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार ३७७ व्यक्तिको मृत्यु भइसकेको छ ।