अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा २४ घण्टामा थपिए ४ लाख संक्रमित, साढे तीन हजार जनाको मृत्यु

भारतमा २४ घण्टामा थपिए ४ लाख संक्रमित, साढे तीन हजार जनाको मृत्यु


काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट तीन हजार पाँच सय २२ जनाको मृत्यु भएको छ । सो अवधिमा ४ लाख २ हजार एक सय १० संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार आठ सय ३५ पुगेको छ ।

हालसम्म भारतमा एक करोड ९१ लाख ५७ हजार ९४ जनामा संक्रमण भएकोमा एक करोड ५६ लाख ७३ हजार तीन जना निको भएका छन् । अहिले भारतमा ३२ लाख ७२ हजार दुई सय ५६ जना सक्रिय संक्रमित छन् ।

यद्यपी भारतमा मृतकको यकिन तथ्यांक तयार भइरहेको छैन । उपचार नपाएर अस्पताल बाहिरै ठूलो संख्यामा मानिसको ज्यान गइरहेकोले यकिन तथ्यांक तयार हुन नसकेको हो ।

मृतकका परिवारले स्थानीय निकायमा मृत्युदर्ता गरेपछि मात्र यकिन तथ्यांक आउन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतकका परिवारलाई सरकारले राहत दिन्छ । यसका लागि मृत्युदर्ता गर्नुपर्छ । भारतको सुरत सहरको नगरपालिका कार्यालयमा मृत्यु दर्ता गर्न समेत घन्टौं लाइन बस्नुपरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

उपचारका लागि अस्पतालमा लाइन बस्नुपर्ने, लाइन बस्दा पनि बेड नपाइने, ज्यान गुमाएकाको दाहसंस्कारका लागि घन्टौं लाइन बस्नुपर्ने, शव जलाउन दाउरा अभाव हुने र मृत्युदर्ताका लागि समेत लामो लाइन बस्नुपर्ने विकराल अवस्थाबाट अहिले भारत गुज्रिरहेको छ ।