अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडा सदस्यद्वारा बिरामी बोक्न निःशुल्क निजी गाडी

वडा सदस्यद्वारा बिरामी बोक्न निःशुल्क निजी गाडी


काठमाडौं – रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका एकजना जनप्रतिनिधिले आफ्नो निजी गाडी बिरामी बोक्न निःशुल्क दिनुभएको छ ।

वडा सदस्य कुमार ढुंगेलले आफ्नो निजी बुलेरो जिप वडाका बिरामीको लागि निःशुल्क प्रयोग गर्नेगरी प्रदान गर्नुभएको हो । कोभिड महामारी बढ्दै गएपछि बिरामी ओसार्न समस्या परेकोले आफूले चढ्दै आएको निजी जिप वडाको स्वास्थ्य संस्थाको जिम्मामा रहने गरी प्रदान गरिएको ढुंगेलले बताउनुभयो ।

आफ्नो वडाका बिरामीले सो गाडी निःशुल्क प्रयोग गर्नसक्ने उहाँले बताउनुभयो । उहाँले कोभिडको मिल्दोजुल्दो लक्षण देखिएर जँचाउन जानुपरेमा वा बिरामीलाई ल्याउन लैजान परेमा सो जिप प्रयोग गर्न सकिने बताउनुभयो । जिल्ला भरिका नागरिकलाई प्रयोग गर्न दिँदा आफ्नो वडाका नागरिकले समस्या परेको बेलामा प्रयोग गर्न नपाउने भएकोले आफ्नो वडा भित्रका नागरिकलाई मात्र प्रयोग गर्ने गरी सो जिप प्रदान गरिएको उहाँले बताउनुभयो ।

कम्तीमा सदरमुकाम गएर मानिसलाई कोभिडको जाँच गर्न सहज होस् भनेर गाडी उपलब्ध गराएको उहाँले बताउनुभयो । ‘गाडीको सम्पूर्ण खर्च म आँफैले ब्यहोर्ने गरी वडा स्वास्थ्य प्रमुखलाई गाडी जिम्मा लगाएको छु, स्वास्थ्य प्रमुखको सिफारिसमा बिरामी तथा कोभिडको शंका लागेकालाई स्वास्थ्य संस्थासम्म पुर्याउने व्यवस्था हुन्छ’, ढुंगेलले भन्नुभयो ।

संक्रमित बिरामी वा स्वास्थ्य परीक्षणको लागि जाने साधन नपाएकाले ९८५४०४०६७५ नं को मोवाइलमा सम्पर्क गरेर सो सेवा लिन सक्ने उहाँले बताउनुभयो ।