अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण


गाजा सिटी- इजरायली लडाकू विमानहरूले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण सुरू भएको हो ।

करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरू ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो ।

इजरायली सेनाले गाजास्थित नौ जना हमास कमान्डरका घरलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ । सोमबार बिहानै भएका पछिल्लो आक्रमणबाट कोही घाइते भए वा नभएको बारेमा स्पष्ट भइसकेको छैन ।

आइतबार टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले पूर्ण क्षमताका साथ हमास लडाकू विरुद्ध आक्रमण जारी राखेको बताउँदै यस आक्रमणमा अझै केही समय लाग्ने बताउनु भएको थियो । उहाँले हमासका विद्रोही समूहले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भएको थियो ।

हमासका विद्रोहीले पनि इजरायलमाथि दबाब कायमै राखेको छ । गाजा शहरका बस्तीहरुबाट हमासका लडाकूले इजरायलमाथि दिनहुँ क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।

यसअघि सन् २०१४ मा हमास र इजरायलबीच भिषण युद्ध भएको थियो । तर यसपटकको विनाश सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताउनुभयो ।

हमासले यसअघि गत सोमबार जेरुसेलममाथि क्षेप्यास्त्र प्रहार गर्न शुरु गरेको थियो जसका कारण इजरायलले गाजामाथि भिषण कारबाही थालेको हो ।

गाजामा भएका सयौं हवाई आक्रमणबाट हालसम्म कम्तीमा १८८ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ जसमा ५५ जना बालबालिका र ३३ जना महिला छन् । आक्रमणबाट एक हजार २३० जना घाइते भएका छन् । गाजाबाट इजरायलतर्फ प्रहार गरिएका तीन हजारभन्दा बढी क्षेप्यास्त्रबाट हालसम्म आठ जनाको मृत्यु भएको छ ।

हमास र इस्लामिक जिहाद विद्रोही समूहले आफ्नातर्फ २० जना लडाकू मारिएको स्वीकार गरेका छन् तर इजरायली सेनाले यो भन्दा अझ ठूलो संख्यामा लडाकू मारिएको जनाएको छ ।

पछिल्ला आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषदलाई जानकारी गराउनु भएको छ ।

इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ ।

प्यालेस्टिनी विदेश मन्त्री रियाद अल-मलिकीले सुरक्षा परिषद समक्ष इजरायली आक्रमण रोक्नेतर्फ तत्काल पहल गरिदिन आग्रह गर्नु भएको छ । तर, राष्ट्रसंघका लागि इजरायली राजदूत जिलाड एर्डानले राष्ट्रसंघ समक्ष इजरायल विरुद्ध आक्रमण रोक्न हमासलाई दबाब दिन आग्रह गर्नु भएको छ ।